काठमाडौं । काठमाडौंको पशुपतिनाथको आसपासमा हिन्दू धर्मालम्बी साधुहरूको लागि एउटा मुक्तिको धाम हो । आराध्यदेव श्री पशुपतिनाथको पादस्चरणमा जीवन त्याग्न भन्दै देशका विभिन्न स्थानबाट तथा विदेशबाट समेत आएका विभिन्न साधुसन्तहरूको एउटा बशोवासको पुण्यभूमि पनि हो पशुपति क्षेत्र । युनेस्कोको विश्वसम्पदा सूचीमा समेत सूचीकृत पशुपति क्षेत्र विशेषगरी नेपाल र भारतका हिन्दूधर्मालम्बीहरूको लागि पवित्र पुण्यभूमि हो भन्नेमा कसैको दुईमत रहेको छैन ।
अहिले यो पुण्यभूमिमा दुई जना अघोरीसँगै ५१ जना साधुहरूको बसोबास रहेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ । सामान्य मानिसको जीवनशैली भन्दा भिन्न जीवनशैली अँगाल्ने अघोरी बाहेक पनि आफ्नो सारा जीवन सन्यासमा समर्पित गरेर सन्यासी जीवन विताउनेहरू कसरी बाँच्छन् त ? के यिनीहरूको खानाको व्यवस्थाको लागि नेपाल सरकारको तर्फबाट पशुपति क्षेत्र विकास कोषले केही व्यवस्था गरेको छ या त यिनीहरू आफ्नो जोहो आफैंले गर्ने गरेका छन् ? यो सबैको चासोको विषय हुनसक्छ । किनभने सरकारले बाँचुन्याली खानपानको व्यवस्था गर्ने हो भने यो पेशामा संलग्न हुनेको संख्या पनि दिनानुदिन नबढ्लाभन्न सकिँदैन ।
पशुपति क्षेत्रविकास कोषले दिएको जानकारी अनुसार बाहिरबाट देख्दा यस्ता सन्यासीहरूको जीवन जति सहज र चिन्ता रहित देखिएको छ भित्रबाट हेर्दा यिनीहरूको पीडा पनि कम्तिको भने छैन । आफूलाई भोकलागेको बेलामा खाजा र खाना खानको लागि साधूहरूले पनि आफ्नो व्यवस्था आफैंले गर्नुपर्ने अवस्था रहेको पशुपति क्षेत्रविकास कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए । उनका अनुसार साधुको लागि मात्रै होइन त्यहाँ जाने जो कोहीले पनि मनलागेको अवस्थामा चिया खानको लागि विहान ८ बजे पशुपतिनाथ मन्दिरको पश्चिमपट्टी रहेको अन्नपूर्ण भण्डारमा विभिन्न ट्रष्टहरूको सहयोगमा व्यवस्था हुने गरेको छ । सो समयमा आफ्नो खानाको व्यवस्था नहुनेहरू त्यही गएर चिया खाने गरेको सदस्यसचिव टण्डनले जानकारी दिए ।
त्यस्तैगरी, भागवताश्रम जसलाई स्वर्गद्वारी आश्रम पनि भनिन्छ । त्यहाँ पनि भागवत बाबा भनिने साधुले सीमित साधुहरूको लागि खानाको व्यवस्था गर्ने गरेका छन् । तर यो हरेक बार नभएर साताको तीनदिन जति मात्रै हुने गरेको छ । बरू गुठी संस्थानद्वारा सञ्चालित केही मठहरूले यस्ता साधुहरूको लागि खाना खाने व्यवस्था गर्ने गरेको पनि कोषले जनाएको छ । कोषका अनुसार गुठी संस्थानले नै मठाधीशहरू नियुक्त गर्ने गोरखनाथ मठ, निर्मलाखडा मठ, नानक मठ, रामानन्द मठ र शंकराचार्य मठमा पनि भिन्दाभिन्दै दिन खाना खुवाउने गरिन्छ ।
यसरी खाना खुवाउने ठाउँमा नजाने साधुहरू आफैंले भिक्षा मागेर खानाको जोहो गर्ने गरेका छन् । यद्यपी पशुपति क्षेत्रविकास कोषले भने यसको लागि कुनैपनि व्यवस्था गर्ने नगरेको पनि स्पष्ट पारेको छ । यसरी साधुको जीवन पनि दुई छाक पेट पाल्नकै लागि यावत समस्याहरू झेल्नु पर्ने गरेको साधुहरू बताउँछन् । २० वर्षदेखि पशुपति क्षेत्रमा बशोबार गर्दै आएका गोकूल स्वामी भीक्षा माग्न जान नसकेको दिन कहिले त भोकै पनि बस्नु पर्ने बताउँछन् । उनी भन्छन् ‘पहिलेपहिले त खानेकुरा बाँड्नेहरू पनि भेटिन्थे । तर अहिले त त्यो पनि कम हुँदैछ ।’
तर अघोरीहरू भने यसमा खासै समस्या नरहेको बताउँछन् । पशुपतिको मन्दिर परिसरमा नै वाग्मती पारी बसोबास गर्दै आएका इषानाथ नाम गरेका अघोरी आफूलाई दिनमा चिया, भाङ र दुईवटा रोटी बाहेक अरू केही पनि खानु नपर्ने भएकोले खानाको लागि खासै समस्या भने नरहको स्पष्ट पार्छन् । तर, उनी पशुपति क्षेत्र विकास कोषबाट कुनैपनि सहयोग प्राप्त नभएकोमा पनि कुनै गुनासो नरहेको पनि बताउँछन् ।