arrow

भोटेकोसी कटानबाट थप तीन घर बगे

logo
प्रकाशित २०७३ असार २५ शनिबार
tatopanis.jpg.jpeg
चौतारा । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोक, तातोपानी गाविसको लिपिङ बजारमा आज थप तीन घर बगाएको छ । तीन पक्की घरसहित एनसेलको टावर समेत नदी कटानले बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए । नदिले यसअघि ६० घर बगाइसकेको छ । 
 
तातोपानी क्षेत्रमा पानी नपरे पनि चीनबाट बगेर आउने सो नदीमा पानीको बहाब घटबढ हुने गरेको र नदीले बजार क्षेत्रतर्फ निरन्तर कटान गरिरहेकाले तातोपानीदेखि लिपिङ बजारमा रहेका सडकको तल्लो भागका घर उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिए । “नदी कटानले गाविस भवनको तल्लो भाग कटान गरिसकेको छ, भूकम्पपीडितको अनुदान सम्झौताको काम गाविस भवनमै बसेर गरिरहेको छु”– गाविस सचिव डम्बरबहादुर श्रेष्ठले भने , “शनिबारसम्म सक्नुपर्ने निर्देशन छ, त्यसैले खतरा मोलेरै जनताको काम गरिरहेको हुँ ।” 
 
दिनभरि काम गरेर बेलुका भएपछि आफूसहित स्थानीयवासी बास बस्न सुरक्षित ठाउँ खोज्दै माथिल्लो गाउँमा जाने गरेको श्रेष्ठले बताए । नदीले ठाउँ ठाउँमा राजमार्ग पूरै कटान गरेपछि भिरमा परिणत भएको र धेरै ठाउँमा पैदल हिँड्ने बाटो समेत नभएको हुँदा ठूलो जोखिम उठाएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । नदीको कटान बस्तीतर्फ बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ