arrow

सबैलाई निःशुल्क खोप पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

'मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
cni-pm-deuba.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए।

“विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्त्वपूर्ण हो,” प्रधानमन्त्री देउवाले भने, “महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यस कारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो।”

प्रधानमन्त्री देउवाले परिसङ्घले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवर्द्धन गर्ने बताए।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे। उनले परिसङ्घले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने बताए।

उनले अर्थतन्त्र अहिले कमजोर अवस्थामा रहेको भन्दै त्यसलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताए। अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले जोड दिने पनि उल्लेख गरे।

यसै गरी परिसङ्घका अध्यक्ष एमिरेटस विनोद चौधरीले परिसङ्घले महत्त्वपूर्ण थिंक ट्याङ्कको रूपमा काम गरिरहेको बताए। उनले विश्वका सफल उदाहरणहरू हेरेर परिसङ्घका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरे। चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठुलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको बताए।

साधारणसभामा प्रमुख वक्ताका रूपमा रहनु भएका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए। उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणको लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे।

साधारणसभामा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसङ्घलाई अघि बढाएको बताए। अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने उल्लेख गरे।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड विरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे। उनले आर्थिक विकासको महत्त्वपूर्ण स्तम्भको रूपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह पनि गरे। कार्यक्रममा परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए।

युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ
परिसङ्घको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरेका छन्। एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो।

युनियन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन्। कार्यक्रममा चौधरीले एसियाली देशहरूमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औँ शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गरे।

परिसङ्घको अध्यक्षमा अग्रवाल
नेपाल उद्योग परिसङ्घको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालेका छन्। परिसङ्घको १८ औँ वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन्। अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।

उनले यसअघि परिसङ्घ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरी सकेका छन्। साथै उनी परिसङ्घको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसक्नु भएको छ। पूर्व फुटबल खेलाडी समेत रहनु भएका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौँ रेजर्स फुटबल क्लबका प्रोमोटर छन्।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक छन्। परिसङ्घको साधारणसभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ। त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन्।

राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दीप कुमार शारडा, वरुण कुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलीप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य सघाई चयन भएका छन्।

यसै गरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ