arrow

पहिरो खसेर तमोर नदी थुनियो, स्थानीयबीच भागाभाग

logo
प्रकाशित २०७३ असार २६ आइतबार
tttttttttttttttt.jpg.jpeg
ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छन् । 
 
बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासी बाढी आउने खतराले त्रसित भएका छन् ।
 
 सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको स्थानीयवासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरी पानी बगिरहेको भए पनि खतरा कायमै रहेको जनाइएको छ । 
 
यता नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगिसकेको छ भने यहाँस्थित नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ । 
 
यस्तै तमोर नदी आसपासका स्थानीयवासीलाई सतर्क रहनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ ।
विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिलबहादुर लाबुङका दुई वटा घर डुबानमा परेका छन् भने जीवन लाबुङकै एक हल गोरु नदीले बगाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ