काठमाडौं । चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि आठौं पटक आमरण अनसन बस्न लागेका डा. गोविन्द केसीलाई प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि बालुवाटारमा डाकेका छन् । यद्यपि, केसी बालुवाटार गएका छैनन् । केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बालुवाटार पुगेको छ । सरकारको तर्फबाट शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्यमन्त्री राम जनम चौधरी वार्ताका सहभागि हुँदै छन् ।
केसीले दिउँसो ३ बजे बाट अनसन थाल्ने थाह पाउने वित्तिकै बिहान प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । दाहाले केसीले आफै आउने बताएको सुनाए । यद्यपि, केसीले जीवन क्षेत्री, सुमन आचार्य, लिजन महर्जन, बद्री अर्याल र स्नेहवन्धु रेग्मीलाई बालुवाटार पठाएका छन् ।
वार्तामा केसी आफै किन नआउनु भा ? वार्तामा सहभागि हुन वालुबाटार हाता पुगेका सुमन आचार्यले हाम्राकुरालाई भने, ‘अनसनको बस्न ढिलो हुने भएकाले सर आउनु भएन । हामीलाई पठाउनु भो ।’ वार्ता सकारात्मक भो भने अनसन के हु्न्छ त ? जवाफमा उनले भने, ‘त्यो त अहिल्यै भन्न सकिँदैन । गोविन्द सरले भने अनुसार फेरि पनि अनसन भाँड्ने खेल मात्रै हुने हो । त्यहाँ जानु र जानुको औचित्य छैन ।
फेरि पनि फकाउने जुक्ति मात्रै हो ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ समेत रहेका केसी अस्पताल परिसरमै अनसन बस्दै छन् । अस्पतालले परिसरमा अनसन नबस्न भनेको छ । तर डा. केसीले परिसरमा अनसन बस्न नदिने कुरा पुरानो भइसक्यो भनेका छन् ।