काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई नेतृत्वमा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पार्टी दर्ता भएको हो । दर्ता गर्न गएका नेताहरुलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्वागत गरर सामुहिक तस्विर समेत खिचाएका छन्।
पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीहरुलाई नयाँ शक्ति नेपालले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर देशको नेतृत्व गर्ने बताए। ‘सत्तामा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ,’ उनले भने, ‘ती तीनवटै निर्वाचनमा हामीले प्रथम स्थान हासिल गरेर देशको नेतृत्व गर्ने हाम्रो लक्ष्य छ।’
संयोजक भट्टराईले नयाँ शक्ति नेपालमा रहेका पुराना सबै पार्टीहरु भन्दा फरक विशेषता भएको पार्टी भएको बताए। उनले भने, ‘यो पार्टीको अहिलेसम्म भएका सबै पार्टीहरुभन्दा केही भिन्न विशेषताहरु छन् ।’
‘पहिलो विशेषता, हामी लोकतन्त्रलाई सबैभन्दा उन्नत बनाउन चाहन्छौं । यस्तो लोकतन्त्र जहाँ हाम्रा सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित हुन्छन्,’ संयोजक भट्टराईले भने, ‘देशभरीका साधारण सदस्यहरुले पदाधिकारी र केन्द्रीय समिति निर्वाचित गर्दछन् । यो नेपालमा पहिलो प्रयोग हामी गर्न गइरहेका छौं ।’
२०७३ असार २६ गते ‘नयाँ शक्ति पार्टी, नेपाल’को निर्वाचन आयोगको कार्यालयमा औपचारिकरुपमा दर्तापछि पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सञ्चारकर्मी सामू भने, ‘नयाँ शक्ति पार्टी, नेपाललाई हामीले निर्वाचन आयोगमा विधिवत दर्ता गरेका छौं । अबदेखि हाम्रो पार्टीको औपचारिक नाम ‘नयाँ शक्ति पार्टी, नेपाल’ हुनेछ। अंग्रेजीमा पनि ‘नयाँ शक्ति पार्टी, नेपाल’ रहनेछ । बोलीचालीको भाषामा ‘नयाँ शक्ति नेपाल’ हुनेछ। हामीले यसलाई एउटा वैकल्पिक राजनीतिक शक्तिको रुपमा अगाडि बढाउँदै छौं। हामीले पार्टीको घोषणापत्र र विधान पनि पार्टीको दर्ता प्रक्रियासँगै प्रस्तुत गरेका छौं।