arrow

डा. केसी अनसन: साँघुरो कोठामा कवाडी बेडमा सुत्न वाध्य

logo
प्रकाशित २०७३ असार २७ सोमबार
govinda-kc-gkc.jpg.jpeg
काठमाडौं। चिकित्सा क्षेत्रको सुधारसँगै भ्रष्टाचारजन्य गतिविधिको अन्त्य गर्न माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा गोविन्द केसीलाई फोहोर पन्छाउँदै कवाडीको सामान प्रयोग गर्दै अनशन बस्न वाध्य पारिएको छ।
 
उनलाई अस्पताल परिसरमा अनसन नबस्न नदिन अख्तियार दूरूपयोग अनुसन्धान आयोगको विशेष दबाब आएपछि अस्पताल प्रशासनलेसमेत बेवास्ता गरेसंगै गणेशमान सिंह इएनटी भवनको दोस्रो तल्लामा रहेको एक साँघुरो कोठामात्र मिलेको हो। 
 
भुकम्पले चर्किएपछि खासै मर्मत समेत नभएको इएनटी भवनमा आइतबारदेखि आमरण अनसनमा बसेका डा. केसीको अनसनस्थल समेत निकै फोहोर छ। उनी अनशन बसेको स्थल उनको ओपीडीका लागि छुट्टाइएको थियो। तर २०७२ बैशाख १२ को भूकम्पले भवन चर्किएपछि त्यहाँ विरामी जाँच भएको थिएन। 
 
सो स्थान अस्पतालका कबाडीमा पठाइने सामान राख्ने ठाउँ जस्तो भएको थियो। उनको अनशनस्थल पुग्ने बेलामा दर्जनौ कवाडीका सामान र फोहोरको डगुर देखिन्छ। त्यहाँ प्रयोग हुन छाडेका बस्तुमात्र राखिएको पाइन्छ। त्यसकै छेउमा रहेको मुस्किलले पाँच जना अट्न मिल्ने कोठामा डा. केसी आमरण अनसन बसेका छन्। चिकित्सा क्षेत्रको विकृति रोक्न आमरण अनसन बसे पनि त्यो विकृतिमुक्त हुन नसकेको प्रशासनले नै उनलाई त्यहाँसम्म धकेलेको हो। 
 
किन यस्तो ठाउँमा बस्नु भएको त भन्ने हाम्राकुराको जिज्ञासामा डा. केसीले ‘अख्तियारले मलाई अनसन नै नबसोस् भन्ने चाहेको थियो, त्यसका लागि प्रशासनलाई कुनै पनि ठाउँ उपलब्ध नगराउन ठाडो हुकुम दियो, त्यसकै असरले गर्दा यो कुनामा आउन वाध्य भएको हुँ।’ यति भनिरहँदा डा. केसीमा कुनै पश्चात्ताप र लघुताभाष भने थिएन। 
 
अनशन शुरु गरेको जानकारी उनले त्यहि सानो कोठामा भुइमा बसेर नै गरे। सानो कोठा वत्रीको व्यवस्था पनि छैन। हावा पनि राम्रो नचल्ने कोठामा अनशन वस्दा झन गाह्रो हुने अनुमान त्यहाँ आउने सबैले गरिरहेका थिए। भुइमा पल्टिएका उनी सानो स्वरमा विद्यार्थीहरुसँग कुरा गरिरहेका थिए। 
 
त्यसमध्येका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको एमविविएस तेस्रो बर्षमा अध्ययनरत नारायण कँडेल सहितका विद्यार्थीहरु त्यहि कवाडीका सामान भएका ठाउँमा गएर काम लाग्ने 'वेड' खोज्न थाले। एउटा काम लाग्ने जस्तो भेटेपछि विद्यार्थीले त्यो कबाडी ठाउँबाट त्यसलाई निकालेर सफा गरेर केसीलाई सुत्ने प्रवन्ध मिलाए। फोहोर कोठा हुँदै गुज्रिनु पर्ने त्यहाँ पुग्दा अस्पताल प्रसासनको नकम्मापन पनि उदाङगो देखिन्थ्यो। उनीहरुले आफ्नो नाकामीलाई उदाङगो पारिरहँदा केसीलाई भने कुनै अपराधीलाई गरेको व्यवहार गरिरहेका थिए।  
 
बत्तीकोसमेत व्यवस्था नभएकाले एक वैकल्पिक व्यवस्था मिलाएर बत्ती बालियो। त्यस्तै अलिकति हावा मिलोस् भनेरै उनको टाउको झ्यालतिर फर्काइएको छ। उनको बस्ने व्यवस्था नमिलाए पनि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। अख्तियारले उनलाई भेट्न को को जान्छन् भनी निगरानी गर्नका लागि पनि शिक्षण अस्पतालको मूलद्धारदेखि उनको कोठासम्म सादा पोशाकका प्रहरी खटाएको छ। प्रहरी निरीक्षककै नेतृत्वमा टिम खटाइएको छ। 
 
पहिलो दिन पत्रकार बाक्लै उपस्थित भए पनि राजनीतिक व्यक्ति भने खासै सरिक भएनन्। झट्ट हेर्दा सरकार डा. केसीलाई मरेमरोस् भन्ने मानसिकतामा रहेको हो कि भन्ने अड्कल काट्न सकिन्छ। यसअघि सात पटकसम्म आमरण अनसन बसेकैले उनको शरीर पूर्णरुपले स्वस्थ्यसमेत छैन। 
 
डा केसीले आफू अनसन बस्नुपूर्व काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पत्रकारसम्मेलन गरेर आफ्ना अनसनका मागहरू सार्वजनिक गरेका थिए। पत्रकार सम्मेलनकै क्रममा प्रधानमन्त्री केपी ओलीले वार्ताको लागि बोलाको विषयलाई अन्तिम समयमा आफूलाई भुलाउन गरिएको षड्यन्त्र भन्दै आफ्ना माग पूरा गर्नतर्फ सरकार गम्भीर नरहेकोले अनसन बस्नुपरेको पनि डा केसीले स्पष्ट पारेका थिए। 
 
डेढ साता अघिदेखि अनसनबस्ने जानकारी दिएका केसीको मागबारे कुनैपनि वास्ता नगरी अनसन बस्ने दिन मात्रै सरकारले वार्ताको लागि आह्वान गरेपछि गोविन्द केसी आफू नगई प्रतिनिधिलाई मात्रै वार्तामा पठाएका थिए। 
 
के–के छन् त केसीका मागहरू –
 
आठौं पठक अनसन बसेका डा गोविन्द केसीले ४ वटा बुँदा सार्वजनिक गरेका छन्। 
 
१ चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न सुधारहरू गरेर संसद्को यही अधिवेशनबाट पारित गरियोस् । 
 
– सबै सरकारी शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले व्यहोर्दै आएको तिनमा सबै सिट निशुल्क गर्ने 
– सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने 
– काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने
– मनशाय पाएकाहरूको मनशायपत्रको नवीकरण नगर्ने, अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गर्ने 
– आगामी शैक्षिकशत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने र त्यसकालागि  आयोगले हाल प्रवेश परीक्षा लिईरहेका निकायहरूसित समन्वय गर्ने । 
 
२ आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थकालागि समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका भ्रष्टहरूलाई संरक्षण दिएका र अरूलाई ब्लाकमेलिङ गरिरहेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि तत्काल संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाओस् । साथै मेडिकल शिक्षाको अनियमिततामा संलग्न तथा पारिवारिक स्वार्थका लागि पदीय मर्यादा विपरितको काममा प्रमुख आयुक्तसँगै संलग्न आयुक्त राजनारायण पाठकमाथि पनि महाअभियोगको प्रक्रिया अधि बढाईयोस् भन्ने माग केसीले राखेका छन् । 
 
३  माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिस्ठान सम्बन्धी हाल संसद्मा विचाराधिन विधेयक तत्काल फिर्ता गरियास् । साथै चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय मर्यादा दुरूपयोग गरेर निहीत स्वार्थका लागि सो प्रतिष्ठान सम्बन्धि विधेयक पारित गर्न खोज्ने सांसद्हरूमाथि समेत कानूनी प्रक्रिया बमोजिम छानविन तथा कारबाही अघि बढाईयोस् ।
 
४ विगतमा भएका अन्य सम्झौताहरू कार्यान्वयन गरियोस् । 
– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा तत्काल वरिष्ठताको आधारमा डिन नियुक्त गरियोस् । 
– अबको शैक्षिक शत्रदेखि मेरिटमा आधारित भर्ना शुल्क र सीटको सीमा लगायतका बुँदाहरू कडाईका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस् । 
– सरकारी शिक्षण संस्थाहरूमा निशुल्क स्नातकोत्तर गर्ने चिकित्सकहरूका लागि अध्ययनपछि अनिवार्य करारको अवधि दुई वर्ष कायम गर्दै कार्यविधिमा सुधार गरियास् । 
– विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा अन्त्य गर्न शिक्षा मन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञहरूको नेतृत्व नेतृत्वमा सर्च कमिटी बनाउने कानूनी व्यवस्था गरियोस् । 
– अनियमितता र भ्रष्टाचारमा मुछिएका आईओएम र त्रिविका पूर्वपदाधिकारीहरूमाथि तत्काल छानविन गरी कारबाही गरियोस् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ