arrow

प्रधानमन्त्री देउवाको सचिवालयमा पुरानै टिम क्रियाशील

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विस्तारमा ढिलाइ भइरहँदा सचिवालयको औपचारिक गठन पनि हुन सकेको छैन। मन्त्रिपरिषद् विस्तारका लागि ढिलाइ भइरहेको अवस्थामा सचिवालय गठनमा पनि ढिलाइ भइरहँदा कतिपय व्यवस्थापकीय कामहरू कसरी भइरहेका छन् भन्ने धेरैले चासो राखेका छन्। 

कतिपयले सचिवालय गठनमा ढिलाइ भइरहेको विषयलाई लिएर असन्तुष्टिसमेत व्यक्त गर्न थालेका छन् भने कतिपय भने सचिवालयमा रहेर काम गर्न आफ्नो तहबाट लबिङमा समेत सक्रिय छन्। यद्यपि, प्रधानमन्त्री देउवाको सचिवालय भने उनी प्रधानमन्त्री भएदेखि नै सक्रिय रहेको बालुवाटार स्रोतले जनाएको छ। 

यसअघि चौथो पटक प्रधानमन्त्री हुँदा ०७४ मा प्रधानमन्त्री देउवालाई सघाउँदै आएको सचिवालय टिम यो पटक पनि अनौपचारिक रूपमा नै अहिले प्रधानमन्त्रीलाई सघाइरहेको छ। पहिलाको जिम्मेवारी पाएकाहरूले नै प्रधानमन्त्रीलाई सघाई रहँदा प्रधानमन्त्री देउवाको सचिवालय टिम भने लगभग पूर्ण नै रहेको देखिएको हो । तर सरकार विस्तार भई नसकेका कारण सचिवालयको टिमलाई औपचारिक रूपमा बाहिर नल्याइएको देउवा निकट एक नेताले बताए । 

प्रधानमन्त्री शेर बहादुर देउवाको मुख्य स्वकीय सचिवमा उनका भतिज भानु देउवा नै रहनेछन् । औपचारिक नियुक्ति नभए पनि भानु देउवा प्रधानमन्त्री देउवाको मुख्य स्वकीय सचिवका रूपमा क्रियाशील छन्। शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा वा नहुँदा सदैव मुख्य सहयोगीको रूपमा भानुले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यस्तै स्वकीय सचिवमा प्रकाश देउवा र वीरेन्द्र थापाले भूमिका निर्वाह गर्दै आएका छन्। निजी सचिवमा भने बद्री तिवारीले जिम्मेवारी पाएका छन् । दोलखाको सहायक सिडियोको जिम्मेवारीमा रहेका तिवारी देउवा प्रधानमन्त्री भए लगत्तै सचिवालयमा काम गर्नेगरि झिकाइएका थिए। यसका अतिरिक्त अन्य कतिपय सहयोगीहरू पनि अनौपचारिक रूपमा बालुवाटारमा क्रियाशील छन् ।

प्रधानमन्त्रीको परराष्ट्र मामिलामा डा. दिनेश भट्टराईले सहयोग पुर्‍याउँदै आएका छन् । यसअघिको कार्यकालमा समेत प्रधानमन्त्री देउवालाई परराष्ट्र सल्लाहकारका रूपमा डा. भट्टराईले नै सघाएका थिए । यस्तै आर्थिक कूटनीतिमा पोख्त मानिएका ज्ञानचन्द्र आचार्यले यो पटक पनि आर्थिक सल्लाहकारको रूपमा सघाउने गरी जिम्मेवारी पाउने सम्भावना छ। 

राजनीतिक सल्लाहकारका रूपमा पार्टीको नेतालाई नै जिम्मेवारी दिने देउवाको तयारी छ। तर यो जिम्मेवारी भने काँग्रेसको महाधिवेशनपछि मात्रै दिइने बुझिएको छ । महाधिवेशनमा पार्टीको पदाधिकारीमा समेट्न नसकेका नेतालाई प्रधानमन्त्री देउवाले आफूसँगै राजनीतिक सल्लाहकारमा तोक्ने सम्भावना छ । यस्तै सुरक्षा सल्लाहकार यसअघि पनि नराखेका प्रधानमन्त्री देउवाले अहिले पनि राख्ने वा नराख्ने केही मन बनाएका छैनन् । जनसम्पर्क सल्लाहकारमा पनि यही स्थिति छ । 

प्रधानमन्त्री देउवाको वरिष्ठ सञ्चार विज्ञका रूपमा यसअघि काम गरेका गोविन्द परियार अहिले पनि बालुवाटारमा रहेर सञ्चार क्षेत्रलाई प्रधानमन्त्रीको गतिविधिसँग जोडिरहेका छन् । उनको भूमिका यस पटक बढ्ने आङ्कलन बालुवाटार निकट रहेकाहरू बताउँछन् । यस्तै प्रधानमन्त्रीको सचिवालयमा फोटोग्राफरका रूपमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रोशन सापकोटाले यसअघिको कार्यकालमा झैँ जिम्मेवारी सम्हाल्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ