arrow

प्रमुख निर्वाचन आयुक्त डा यादवद्वारा पदभार ग्रहण

logo
प्रकाशित २०७३ असार २७ सोमबार
nirwachanaaukta.JPG.jpeg
काठमाडौँ। निर्वाचन आयोगले पहिलो पटक मधेसमूलका प्रमुख निर्वाचन आयुक्त पाएको छ । आयोगको १३औँ प्रमुख निर्वाचन आयुक्तका रुपमा आजदेखि पदभार सम्हालेका  डा अयोधीप्रसाद यादवले अर्थशास्त्रमा ‘विद्यावारिधि’ प्राप्त हुन्। 
 
विसं २००८ कात्तिक २६ गते २०१६ सम्म सुवर्णशम्शेर जवराले पहिलो निर्वाचन कमिसनरका रुपमा आयोगलाई नेतृत्व प्रदान गरेका थिए । यसपछि क्रमशः सुरेन्द्रबहादुर बस्नेत, पूर्णप्रसाद ब्राह्मण, विष्णुमणि आचार्य, सुन्दरप्रसाद शाह, शेरबहादुर शाही, सूर्यप्रसाद श्रेष्ठ, विष्णुप्रताप शाह, अच्यूतरमण राजभण्डारी, केशवराज राजभण्डारी, भोजराज पोखरेल र नीलकण्ठ उप्रेतीले प्रमुख निर्वाचन आयुक्त भए । 
 
उसो त प्रमुख निर्वाचन आयुक्त डा यादवले २०७२ साल भदौ ११ गतेदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रुपमा कार्यभार सम्हाल्दै आएका थिए । संसदीय विशेष समितिले यही असार २४ गते प्रमुख निर्वाचन आयुक्तका रुपमा डा यादवको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । 
 
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीसँग आज पद तथा गोपनीयताको शपथ लिएर सिधै कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यलयमा पुगी पदभार सम्हाले । विसं २०६३ साल पुस २७ गते निर्वाचन आयुक्त पदबाट आयोगमा प्रवेश गरेका  प्रमुख निर्वाचन आयुक्त डा यादवसँग २०६४ र २०७० सालमा दुईपटक संविधानसभा निर्वाचन सम्पन्न गरेका गहकिलो अनुभव छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्नका लागि गर्नुपर्ने कामका बारेमा डा यादवले आयोगमा रही नौ वर्षभन्दा बढी काम गरिसकेका छन् ।  
 
सरल जीवन उच्च विचारका धनी डा यादवले यस बीचमा निर्वाचन प्रणालीको सङ्क्षिप्त रुपरेखा, नेपालमा निर्वाचन, संविधान सभा निर्वाचन २०६४, नेपालमा मतदाता दर्ता प्रणालीजस्ता निर्वाचनसँग सम्बन्धित पुस्तक लेखनसमेत गरेका छन् । यसका अलावा पेसाले अनुसन्धान र शिक्षक डा यादवले सामाजिक–आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा एक दर्जनभन्दा बढी अनुसन्धानमूलक कार्यपत्र र सोही सङ्ख्यामा पुस्तक समेत सम्पादन गरे । 
 
स्नातकोत्तर तहको अर्थशास्त्र विषयमा महेन्द्र मोरङ क्याम्पसबाट स्वर्णपदक विजेतासमेत डा यादवले सोही विषयमा २४ वर्ष अध्यापनमा व्यतित गरेका छन् । उनले केही समय तत्कालीन जुट विकास तथा व्यापार सस्थानको महाप्रबन्धकको जिम्मेवारीसमेत वहन गरेका थिए । 
 
विस २०११ मा सप्तरी जिल्लाको प्रशवनी गाविस बनौलीमा उनको जन्म भएको थियो । उनि नेपाल रेडक्रस सोसाइटी सप्तरी जिल्ला शाखा, सप्तरी मानवअधिकार फोरम र नेपाल बार एसोसिएसनजस्ता संस्थामा पनि आबद्ध छन् । 
 
संविधान कार्यान्वयनमा लाग्छु : डा यादव 
पदभार सम्हाल्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “मेरो पहिलो काम संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउनु हुनेछ ।” 
 
संविधानको प्रावधानअनुसार स्थानीय, सङ्घ-प्रदेश र संसद्को निर्वाचन गराउन आयोगले कार्ययोजना तयार गरी अगाडि बढिसकेको जानकारी उनले दिए । “नेपाली जनताले जुनसुकै निर्वाचन सम्पन्न गराउन आयोगप्रति जुन अगाध विश्वास राखेका छन्, त्यो छविलाई म गिर्न दिन्न, झन् उँचो बनाउनेछु–” प्रमुख निर्वाचन आयुक्त डा यादवले भने । 
 
प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ? भन्ने जिज्ञासामा डा यादवले भने “आयोग र यहाँ कार्यरत कर्मचारीसँग जुनसुकै निर्वाचन गराउन सक्ने गहिरो अनुभव छ, म यो अनुभवलाई लिँदै आयोगको साख बढाउन लाग्नेछु” । 
 
निर्वाचन आयुक्त शर्मा र सचिव शारदाप्रसाद त्रितालले उनलाई आयोगमा स्वागत गरेका थिए । हाल आयोगमा तीन निर्वाचन आयुक्त पद खाली छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ