काठमाडौं । आवश्यक पूर्वाधार र तयारी विना ग्रेडिङ पद्धति लागु गर्दा विद्यार्थी र अभिभावकहरु अन्यौलमा परेको भन्दै त्यसका विरुद्ध अनेरास्ववीयु क्रान्तिकारी आन्दोलित भएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववीयु क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर ग्रेडिङ पद्धति कसैलाई अनुर्तिण गर्ने पद्धति नभए पनि यहाँ झण्डै दुई लाख विद्यार्थीले कतै पनि उच्च शिक्षा अध्ययन गर्न नपाउने गरी लागु गरिएकाले यस्तो पद्धतिलाई तत्काल सच्याएर सबैले उच्चशिक्षा अध्ययन गर्न पाउनु पर्ने ब्यवस्था मिलाउन माग गरेको छ ।
संगठनले पूर्व तयारी र यसको मुल्य मान्यता विपरित ग्रेडिङ पद्धति लागु गरिएकाले दुई लाख विद्यार्थी माथिल्लो शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था आएकोले यसलाई सच्याउनु पर्ने, अभिबृद्धि र झुकाव परिक्षाको व्यवस्था गर्नु पर्ने, सही सिकाईका लागि पाठ्यपुस्तक, पाठ्यसामग्री शैक्षिणिक विधि, शिक्षक तालिममा समेत सुधार गरी विद्यार्थी मुल्याङकन गर्नु पर्ने, अतिरिक्त शिर्षकमा लिईने शुल्क खारेजी हुनु पर्ने, सापेक्षताको आधारमा स्तरीयताको मापन व्यवस्था गरिनु पर्ने, क्षमता अनुसार अघि बढ्ने मार्ग प्रसस्त गर्नु पर्ने, विद्यार्थीको मुल्याङकनको जिम्मा राज्यले लिनु पर्ने र दुर्गभ भुकम्प पीडितलाई निशुल्क उच्चशिक्षा लगायतका १५ बुँदे माग अघि सार्दै आन्दोलनको समेत घोषणा गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २७ गते ज्ञापनपत्र बुझाउने, २८, २९ र ३० गते प्रचारप्रसार तथा विद्यार्थी र अभिभावक जागरण, ३१ गते बृहत अन्र्तक्रिया, साउन ३ गते विद्यार्थी प्रर्दशन र ५ गतेबाट क्रियात्मक आन्दोलन सुरु गर्ने रहेको छ ।
समितिका संयोजक लोकेश विश्वकर्माले दश जोड दुईलाई विद्याय शिक्षाको रुपमा परिभाषित गर्ने र विद्यार्थी सिकाई मुल्यांकन विधीमा गरिएको फेरबदलमा आफूहरु सकारात्मक रहे पनि प्रर्याप्त पूर्व तयारी विना, छलफल नै नगरी ल्याएको कारण विद्यार्थी अभिभावकमा अन्यौलता उत्पन्न भएको भन्दै यसलाई सच्याएर सबैले क्षमता अनुसारको उच्चशिक्षा अध्ययन गर्न पाउनु पर्ने ब्यवस्था गर्नु पर्ने धारणा राखे ।
उनले विद्यालय तहमा कक्षा रोक्न नहुने तथ्य र पछिल्लो ग्रेड ल्याएको कारण कक्षा ११ मा पढ्न नपाउने कुरा आफैमा अन्र्तविरोधी भएको हुँदा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजिएको भन्द यसलाई सच्याएर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।