arrow

सरकारको गैंडा उपहार फण्डा : नेपाल क्रिकेट संघ र गैंडाको राणाकालिन नाता

logo
प्रकाशित २०७३ असार २७ सोमबार
CAN-nepal-new-pic.jpg.jpeg
काठमाडौं । नेपाली क्रिकेट र दुर्लव वन्य जन्तु गैंडाको के सम्बन्ध होला र ? नेपाली क्रिकेट प्रेमी बाहेक अधिकांशले यसको गहिराई बुझ्न पाएका छैनन् । यद्यपि, दुर्लव वन्यजन्तु गैंडा र नेपाल क्रिकेट संघको सम्बन्ध नेपाली क्रिकेट तंग्रिएपछि भएको होइन । नेपालमा क्रिकेटको प्रतिस्पर्धात्मक सुरुवाती देखिनै सम्बन्ध जोडिएको हो । विक्रम सम्बत् २००३ सालमा जहाँनिया राणा शासन कायम थियो । सोही राणाकालिन समयमा गैंडा र नेपाली क्रिकेटको साइनो जोडियो ।
 
क्रिकेटलाई राणाहरुको दरबार बाहिर ल्याउनका लागि २००३ सालमा नेपाल क्रिकेट संघ क्यानको स्थापना भयो । जुन समय क्यानको लोगो के राख्ने भन्ने विषयमा ठूलो विमर्श भयो । तर, तत्कालिन महासचिव कुमारमणि दीक्षितले गैंडा राख्ने प्रस्ताव गरे । जुन प्रस्ताव सहजै स्वीकृत भयो । दिक्षितले देह त्याग अघि दिएको एक अन्र्तवार्तामा भनेका थिए, ‘मैले पढेको एउटा ल्याटिन उपन्यासमा ‘राइनो अट्याक्ट इन द स्टम्प’ वाक्य भेटेको थिँए ।
 
जुन वाक्यबाट क्यानको लोगोमा गैंडा राख्ने प्रेरणा मिल्यो । मैले गैंडाले जस्तै क्रिकेटमा पनि अट्याक गर्ने स्टम्पलाई नै हो भन्ने तर्क राखेपछि पास भयो ।’ अन्र्तवार्ता दिएको एक वर्ष पछि अर्थात् चार वर्ष अघि दिक्षितको  ८९ वर्षको उमेरमा निधन भएको थियो । कुमारमणिले संसार छोडेर गए तर नेपाली क्रिकेटको अट्याक चरित्र विकास गर्न गैंडाको शक्ति र नाता जोडेर गए । अन्ततः नेपाली क्रिकेटले पूर्वाधार अभावकैबीच गैंडा ‘अट्याक्ट’ले टि–ट्वेन्टी विश्वकप खेल्यो । ए डिभिजन सम्म पुग्यो । 
 
सरकारको गैंडा उपहार निर्णय 
सरकारले आइतबार मात्रै चीनलाई दुई जोडी एक सिंगे गैंडा दिने निर्णय गरेको छ । जसको तरंग सर्बत्र छ । सत्तापक्ष गैंडा उपहारको निर्णयले राम्रै सन्देश जाने बताइरहेको छ भने, केही विज्ञ र सत्ता विपक्षीहरु नीतिमा नभएको निर्णय गर्नु राम्रो नभएको भन्ने टिप्पणी गरिरहेका छन् । धेरैले निर्णयबारे चर्चा गर्नु उपयुक्त ठान्दैनन् । तर, गैंडाको महत्व, नेपाली चिनारीमा गैंडा, नेपाली क्रिकेट विकासका लागि गैंडा संरक्षण र प्रर्वद्धनबारे सरकार र मन्त्री कति सोचनीय छन् भन्ने सवाल महत्वपूर्ण हो । 
 
विज्ञहरुले छलफलै नगरी निर्णय गर्नु राम्रो नभएको बताएका छन् । विज्ञहरुले नेपाली क्रिकेटको चिनारी र टेक्नोलोजि सम्भाव्यता गैंडा त्यतिकै बाँडेर सिध्याउन नहुने सुझाव दिएका छन् । त्यति मात्र होइन वर्षेनी गैंडा हेर्नका लागि कयौं देशी विदेशी संरक्षण क्षेत्र पुग्ने गरेका छन् । 
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ देखि त्यसलाई संशोधन गर्न बनेको विधेयक पल्टाउँदा  कुनै विदेशी मुलुक वा व्यक्तिलाई उपहार दिनेबारे प्रस्ट नीति छैन । यस्तै, वन मन्त्रालयको काननु हेर्ने उप–सचिव गोपीलाल नेपाल पहिले देखि यसरी दिँदै आएकैले यस्तो निर्णण भएको हुन सक्ने बताउँछन् । आफु नयाँ भएकाले नीतिबारे जानकारी नभएको भन्दै संरक्षण विभागले यसमा हेरफेर गर्ने बताए । 
 
यसअघि, तत्कालिन शाही सरकारले २०३२ फागुन १६ गते अष्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । शोही शिको गर्दै वनमन्त्री अग्नीप्रसाद सापकोटाले मन्त्री परिषद्मा प्रस्ताव पेश गरे । गएको माघमा चीन भ्रमणमा गएका बेला मन्त्री सापकोटासंग चिनिया समकक्षी ‘स्टेट फरेष्ट्रि एडमनिस्ट्रिेशन’ मन्त्री झाङ जियाङले उपहार स्वरुप दुई जोडी गैंडा मागे ।
 
चीनबाट फर्किएपछि मन्त्री सापकोटाले प्रधानमन्त्री ओलीलाई सो प्रस्ताव सुनाएका थिए । प्रधानमन्त्रीले सोही समयमै उपहार दिने सहमति जनाएका थिए । कतिपयले चीनले समेत त्यस्तै दुर्लव वन्यजन्तु दिने भन्दै उपहार आदान प्रदानको हल्ला चलाएका छन् । यद्यपि, परराष्ट्रका एक अधिकारीले चीनले केही नदिने र मन्त्रीले भ्रमणका क्रममा गरेको प्रतिवद्धता पुरा गर्न लागेका हुन् ।
 
संरक्षणको जिम्मा लिएको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले एक जोडी मात्रै दिनु उपयुक्त हुने बताएपनि मन्त्री सापकोटाले दुई जोडी दिनै पर्ने अडान लिएका बताइएको छ । सम्भवतः चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएकै बेला गैंडा हस्तान्त्रण गर्ने सरकारको तयारी छ । सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैंडा छन् ।  
 
यो पनि नछुटाऔं 
क्यान स्थापना 
एक  समय जुद्ध समशेर आफ्ना केटा केटीले क्रिकेट खेलेको देखेर निकै अत्तालिएका थिए । उनले तुरुन्दै निर्देशन दिए, ‘यस्तो डरलाग्दो खेल खेल्नु हुन्न । यो भन्दा त हकी निकै जाती ।’  यद्यपि, नेपालमा क्रिकेटको जग बसाउन मदनशमशेर खुब खटिए । पिता प्रधानमन्त्री भएकै फाइला उठाउँदै उनले क्रिकेटको लोकप्रियताका लागि निकै मेहनत गरे । सुधार राणाका रुपमा चिनिएका पिता चन्द्रशमशेर प्रधानमन्त्री थिए । नेपालबाट सती प्रथा अन्त्य गरेको श्रेय पनि चन्द्र शमशेरलाई जान्छ । चन्द्रशमशेरका पालामै नेपालमा क्रिकेटको चहलपहल सुरु भइसकेको थियो ।
 
भरतशमशेरका छोरा ब्रह्मशमशेरको बबरमहल, मदनशमशेरको श्रीदरबार, अर्जुनशमशेरको सिंह महल र नरशमशेरको बहादुर भवनमा क्रिकेटको ठूलै चहलपहल हुन्थ्यो । तर, जुद्धशमशेरका पालामा आएर क्रिकेटले केही समय प्रतिबन्ध झेल्यो । त्यो प्रतिवन्ध घरभित्रै बाट थियो । तर, अहिले नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय प्रतिवन्ध झेलिरहेको छ ।  
 
विक्रम सम्बत २००१ सम्म आइपुग्दा कल्याणमणि दीक्षित, त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, सिंहप्रताप शाह र कुमारमणि दीक्षितजस्ता प्रतिभा देखा परिसकेका थिए । उनीहरुले आफ्नो छुट्टै टोली बनाएर त्यही वर्ष सानो गौचरनमा भारतीय दूतावाससँग मैत्रीपूर्ण खेल खेलेका थिए । ती खेलाडीको दरबारबाहिर त्यो खेल पहिलो थियो । तीनै खेलाडी सम्मिलित टोलीले पछि मदनशमशेरको टोलीसँग पनि दुई खेल खेलेको थियो । 
 
यसरी आफ्नो छुट्टै समूह बनाएर करिब दुई वर्ष क्रिकेट खेलेका खेलाडीले २००३ सालमा एउटा क्लब स्थापना गर्ने निर्णय गरे । क्लबको नाम क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) । क्यान स्थापना इङ्ल्याण्डको चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को अवधारणा अन्तर्गत भएको थियो । जुन क्लबसंग आगामी साउन ४ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीले मन्त्रीपूर्ण क्रिकेट खेल्दै छ । जसका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।  
 
उ बेला राणाहरूको टोलीविरुद्ध कडा प्रतिस्पर्धा गर्ने उद्देश्यले स्थापना भएको १२ सदस्यीय क्यानको संस्थापक अध्यक्ष सिंहप्रताप शाह थिए । कुमारमणि दीक्षित महासचिव  र अन्य सदस्यमा त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, मुकुन्दशमशेर थापा, पीताम्बरशमशेर थापा, कल्याणमणि दीक्षित, बन्सीराम भण्डारी, द्वारिकानाथ रेग्मी,  रेशमराज, नरेन्द्र राणा र तारादेव भट्टराई रहे । क्यानको स्थापनाअघि कुमारमणिले आफ्ना बुबामार्फत तत्कालिन ‘चिफ साहेब’ मोहनशमशेरबाट स्वीकृति लिएका थिए ।
 
२००७ सालमा प्रजातन्त्र आएपछि क्यानकै झन्डामुनि २००८ सालमा नेपाली खेलाडी मुलुक बाहिर पहिलो क्रिकेट म्याच खेल्न भारतको पटना पुगे । पछि २०१५ सालमा नेपाली खेलकुदलाई व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् स्थापना हुँदा क्यानलाई क्रिकेटको आधिकारिक संस्थाको मान्यता दिइयो । क्यानको लोगोमा हाल सम्म गैंडा छँदैछ । 
 
अहिले के छ क्यानको हाल ?  
आन्तरिक विवादमा फसेको क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निलम्बन व्यहोरिरहेको छ । आइसीसीको बोर्ड बैठकले गत वैशाख १२ गते क्यानलाई निलम्बन गरेको थियो । केही दिन अघि भएको साधारण सभाले त्यसलाई अनुमोदन समेत गरिसकेको छ । लामो समय देखि व्यवस्थापनमा दरार आएको क्यानमा गएको पुस १ गते चतुरबहादुर चन्द पक्षले साधारण सभा गरी क्यान गठन गरेकामा राष्ट्रिय खेलकुद परिषद्ले मनोमानी गरी साधारण सभा गरेको भन्दै तदर्थ समिति गठन गरेको थियो ।
 
निर्वाचित भएकै कारण आफुहरु आधिकारीक भन्दै चन्द पक्षले सर्वोच्चमा रिट हालेपछि समस्या झन् जटिल बनेको हो । मुद्दाको सुनुवाई नभएको र सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले स्वतन्त्र क्यान गठनको वातावरण नभए सम्मका लागि दुवै क्यानलाई निष्क्रिय बनाइदिएको छ । स्वतन्त्र क्यान गठनको वातावरण बनाउन आइसीसीको टोली आउने बताइएपनि हाल सम्म आइपुगेको छैन ।
 
सर्वोच्चको मुद्दा विचाराधीन छ । पटक–पटक पेशी सरिरहेको मुद्दाको आगामी पेशी भदौ २६ गते तय भएको छ । अक्टोवरको बोर्ड बैठकमा रिपोर्ट पेश गर्ने गरी छलफलमा नेपाल आउन लागेको आइसीसी टोली आउने मात्रै सुनिएपनि कहीले आउने भन्ने तिथि थाहा भएको छैन । क्यान नाकाम भएकाे छ । जसकारण प्रमुख कार्यकारी (सीइओ) भावना घिमिरेले समेत राजिनामा दिइसकेकी छन् । यद्यपि, दुवै क्यान निलम्बनमा रहेकाले उनको राजीनामा स्वीकृत भएको छैन । यद्यपि, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको सहभागितामा भने असर पुगेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ