काठमाडौं । नेपालमा सरकार परिवर्तनको हल्ला चलेसँगै भारतीय मिडियाहरूमा यस विषयले प्राथमिकता पाउन थालेको छ । सत्ता साझेदार दल नेकपा माओबादी (केन्द्र)ले मंगलबार सरकारलाई दिएको समर्थन फिर्तालिएसँगै नेपालका सञ्चारमाध्यमसँगै भारतीय सञ्चारमाध्यममा समेत यसले प्राथमिकता पाएको हो ।
नेपालमा केपी ओली नेतृत्वको सरकारबाट माओबादी पन्छिएको कुरामा भारतीय अनलाईन संस्करण
टाइम्स अफ इन्डियाले प्राथमिकताका साथ उल्लेख गरेको छ । उसले सत्ता गठबन्धनको प्रमुख सहयोगी दल नेकपा माओबादी (केन्द्र)ले समर्थन फिर्ता लिएसँगै केपीओली नेतृत्वको सरकार संकटमा परेको उल्लेख गरेको छ । उक्त अनलाईनको अङ्ग्रेजी संस्करणमा ‘माओबादीले समर्थन फिर्ता लिएपछि नेपाल सरकार संकटमा’ शीर्षकमा रिपोर्ट प्रकाशित भएको छ ।
त्यस्तै अर्को भारतीय
अनलाइन न्यूज २४ ले पनि टाइम्स अफ इन्डियालाई नै उद्दृत गर्दै ‘बडो संकटमा नेपाल सरकार, प्रचण्डको पार्टीले समर्थन फिर्ता लिए’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
यसरी नेपालमा सरकार परिवर्तनको हल्लाले भारतीय सञ्चारमाध्यममा समेत ठूलो हल्ली चल्ली मच्चाएको छ । यस बाहेक अन्य अनलाईनले पनि प्रचण्डको हँसिलो तस्वीर राखेर आ–आफ्ना तर्क गर्दै आफूसँग भएका विभिन्न शर्तहरू पूरा नगरेकोले समर्थन फिर्ता लिनुपरेको प्रचण्डको भनाई सहितको समाचार प्रकाशित गरेका छन् ।
मधेश आन्दोलन र त्यस लगत्तै जारी भएको संविधान पछि भारत सरकारले समेत संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी समेत गरेको अवस्थामा केपी ओली नेतृत्वको सरकारले लिएको अडानका कारण समेत भारतीय आमसञ्चारमा ओलीको चर्चा चुलिएको थियो । सोही कारणले पनि ओली सरकार संकटमा पर्दा भारतीय सञ्चार माध्यमले यस समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।