- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरेका छन् ।
आइतबार रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता लेखकले भने,‘हामीले ९७-९८ प्रतिशत काम सम्पन्न गरेर दिएका छौँ। अधिकांश काम सम्पन्न गरेका छौँ । छोटो समयमा हामीले काम सम्पन्न गरेर केन्द्रीय नेतृत्वलाई प्रतिवेदन बुझाएका छौँ । ७५ जिल्लाको क्रियाशील सदस्य त प्रिन्ट भैसकेको छ । तर, केही विवाद बाँकी छन् । हामीले दिएको प्रतिवेदन केन्द्रीय समितिले हिजो स्वीकार गरिसकेको छ । र, हामीलाई धन्यवाद पनि ज्ञापन गरेको छ । हिजो बाँकी विवाद समाधानको लागि कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र मलगायत तीन जनाको समिति बनेको छ । अब बाँकी काम भदौ २ गतेभित्र सम्पन्न गर्छौँ ।’
लेखकले पार्टीको १४औँ महाधिवेशन नयाँ सार्वजनिक कार्य तालिकाअनुसार नै समयमा हुने विश्वास दिलाए। उनले अब क्रियाशील सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको महाधिवेशनको नयाँ मिति हामीले सर्वसम्मतको आधारमा घोषणा गरेका छौँ, अब घोषित मितिमै महाधिवेशन हुन्छ ।’ कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्य तालिका प्रभावित बनेको उनको जिकिर छ ।
हिजो केन्द्रीय समिति बैठकले सर्वसम्मतिले सार्वजनिक गरेको कार्यतालिका बमोजिम नै काम हुने बताएका छन् । उनले भने,‘भदौ १८ गते वडा अधिवेशन सुरु हुन्छ, एवम् रितले अब सबै अधिवेशन हुँदै जान्छन्, मङ्सिर ९, १०, ११, १२ र १३ गते पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न गर्छौँ ।’ उनले हिजो सार्वजनिक गरिएको महाधिवेशनको नयाँ कार्य तालिका संविधानसम्मत नै रहेको पनि दाबी गरे । उनले भने,‘यो कार्यतालिकाले संविधानको मर्म र भावनालाई समेटेको छ ।’
फरक प्रंसगमा उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले सरकारलाई पूर्णता दिने सवालमा केही ढिलाइ भएको र यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । तर, अबको चार दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ । सरकारमा नेकपा (एमाले) को माधव नेपाल समूह आउँछ कि आउँदैन भन्ने कुरा यकिन नभएको पनि उनले टिप्पणी गरे ।
सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याई सकिएको उनको भनाई छ । उनले भने,‘साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने कुरा थियो, अहिलेसम्म विस्तार हुन सकेन, यसमा ढिलाइ भयो, यो कुरा म स्वीकार गर्छु । तर, अब ढिलाइ गर्नुहुँदैन । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ ।’ उनले सरकारको पहिलो प्राथमिकता भनेको नै कोभिडको महामारीबाट मुलुक र जनतालाई जोगाउनु भएकोले सोहीअनुसार आफूहरूले कार्यक्रम ल्याएको पनि स्मरण गराए ।
नेता लेखकले काँग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने पनि विश्वास दिलाए । उनले भने,‘हामीले लामो समयसम्म सहकार्य गर्ने भनेर नै यो गठबन्धन बनाएका हौँ । मलाई लाग्छ, यो गठबन्धनले लामो समयसम्म सहकार्य गरेर नै अघि बढ्छ ।’ माधव नेपाल समूह सरकारमा आउने वा नआउने भन्ने कुरा त्यो नेपाल पक्षको मामिला भएकोले उक्त पक्षले गर्ने निर्णय आफूहरूलाई मान्य हुने लेखकको भनाई छ ।
नेता लेखकले नेपाल र भारतबिच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुन बनाउनुपर्नेमा जोड दिए । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै लेखकले भने-‘भारत सरकार र भारतीय जनतालाई हाम्रो तर्फबाट ७५औँ स्वतन्त्रता दिवसको अवसरमा धेरै धेरै शुभकामना छ । भारत हाम्रो मित्रराष्ट्र हो । भारतसँग हामीले मित्रवत् सम्बन्ध कायम राख्दै आएका छौँ । आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझै मजबुन बनाउनुपर्छ । सुदृढ बनाउनुपर्छ ।’
उनले नेपाल र भारतबिच पुरानो सम्बन्ध भएकोले दुई देशबिच केही समस्या भएको पनि स्विकारे । र, यसलाई कूटनीतिक संवादको मार्फत हल गरिनुपर्नेमा पनि उनको जोड थियो । उनले भारतसँग भएको सीमा समस्यालगायतका कतिपय समस्याको समाधान भने आपसी सहमति र संवादमार्फत हल गरिने बताए । उनले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखेर द्विपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने बताए ।
अफगानिस्तानमा रहेका नेपालीहरूलाई सकुशल नेपाल ल्याउनको लागि सरकारले विशेष पहल गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने,‘नेपाल सरकारलाई मेरो विशेष आग्रह छ कि अफगानिस्तानमा अप्ठ्यारोमा रहेका नेपालीहरूलाई सकुशल घर फिर्ती गर्नुपर्छ । उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइनुपर्छ । सरकार खास गरी प्रधानमन्त्रीज्यू र मन्त्रीहरूले पनि यो विषयमा गम्भीर भएर काम अघि बढाउनुभएको होला, सरकार गम्भीर भएर तत्काल पहलकदमी लिओस् ।’