रोल्पा । जिल्ला सदरमुकाममा संचालनमा रहेका विभिन्न मीठाई पसलहरुमा क्यान्सर समेत हुन सक्ने अखाद्य रङको प्रयोग गरेको भेटिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोलाको नेतृत्वमा गएको अनुगमन टोलीले अखाद्य रङको प्रयोग भएको फेला पारेको हो । रङको प्याकेटमा अखाद्य पदार्थ लेखिएको देख्दा देख्दै समेत सेवाग्राहीको स्वास्थ्यमा खेलवाड गर्दै व्यवसाय गर्नु कानून विपरीत भएको सहायक प्रजिअ बास्तोलाले बताए ।
हेर्दा आकर्षक देखिने विभिन्न प्रकारका मीठाइमा सो रङको प्रयोग गरेको भेटियो । रङ प्रयोग नभएका मीठाई समेत सडेर खानै नमिल्ने भइसक्दा समेत विक्रि वितरण गरेको फेला पारी ठूलो परिमाणमा विभिन्न थरीका मीठाई अनुगमन टोलीले नष्ट गरेको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय रोल्पाका शाखा अधिकृत मनोहर थापा, उद्योग अधिकृत बालकृष्ण आचार्य, उद्योग वाणिज्य संघका प्रतिनिधि केशवकुमार आचार्य, पत्रकार दिनेश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
‘यो अनुगमनमा हामीले व्यापारीहरुलाई सचेत गराएका छौं । आगामी दिनमा पनि यस्तै लापरबाही गरी अखाद्य रङको प्रयोग गरेको पाइए वा सडे गलेका खानेकुराहरु विक्रि वितरण गरेको भेटिए कानूनी प्रकृया अघि बढाउने छौं’ –सहायक प्रजिअ बास्तोलाले भने ।
उनका अनुसार खाद्य ऐन २०२३ र नियमावली २०२७ मा खाद्य पदार्थमा प्रयोग हुन पाउने रङको सूची उल्लेख गरिएको छ । जसमा कृत्रिम खाद्य रङहरु मिसाउन निषेध गरिएको छ ।