arrow

अब तीन विधेयक पारित भएमात्रै बजेट पास, नभए के होला ?

logo
प्रकाशित २०७३ असार २९ बुधबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३-७४को लागि विनियोजन गरेको बजेट पास गर्ने कार्यतालिका बुधबार ११ बजे बस्ने संसद्मा राखिएको थियो । राजनीतिक दलहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा थप छलफलको लागि भनेर विशेष आग्रह गरेपछि बैठक बुधबार नै तीन बजेको लागि बोलाईएको छ । 
 
उक्त बैठकमा आगामी आर्थिक वर्ष २०७३-७४ को बजेट पारित गर्नको लागि आवश्यक रहेका तीन विधेयकहरू पारित गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ । 
 
अहिले बजेट पारित हुनको लागि आवश्यक पर्ने आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत संशोधन विधेयक २०७३ पारित गर्न बाँकी नै रहेको छ । यस भन्दा अगाडि गत शनिबार बजेट माथिको विनियोजन विधेयक पारित भईसकेको छ भने महत्वपूर्ण मानिएका यी तीन विधेयक पारित हुन अझै बाँकी रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । 
 
यद्यपी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिईसकेको जनाएको अवस्थामा एमाले र काँग्रेसले समर्थन नजनाई यो बजेट पारित हुने सम्भावना पनि ज्यादै कम रहेको जानकारहरू बताउँछन् । यद्यपी माओवादीले अझैसम्म पनि बजेट पारित हुन दिने भनेर भनिरहेको अवस्थामा यी तीन विधेयकमा सहमति जनायो भने मात्रै बजेट पारित हुनेछ । 
 
तर, माओबादीले बजेट पारित पनि हुन दिएन भने के हुन्छ त ? विनियोजन विधेयकको काम कति हो र बाँकी रहेका विधेयकहरूको काम कति हो त ? यस विषयमा प्रवक्ता गौतमका अनुसार विनियोजन विधेयकको काम भनेको भागवण्डा गर्ने या त बजेट विनियोजनको काम गर्ने मात्रै हो । तर, अब पारित हुन बाँकी रहेका विधेयक भनेको महत्वपूर्ण विधेयकहरू हुन् । यी विधेयकहरू मध्ये आर्थिक विधेयकले राष्ट्रिय खर्चको कुरा र राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत संशोधन विधेयकले आम्दानी वा ऋणसम्बन्धि विषय समेट्ने भएकोले बजेटको लागि सबैभन्दा महत्वपूर्ण विधेयकहरू यही रहेको अर्थका अधिकारीहरूले बताएका छन् । 
 
यदि बजेट पारित भएन भने के हुन्छ  त भन्ने प्रश्नमा संसदीय प्रक्रियाको कुरा गर्दै गौतम भन्छन् ‘यदी कुनै कारणले सरकार नरहेर बजेट पारित हुन सकेन भने अर्काे सरकारले त्यही बजेटलाई आत्मसाथ गर्ने या त संशोधन गरेर ल्याउने लगायतका विकल्पहरू रहनेछन् ।’ उनले यो प्रक्रियागत विषयमात्रै रहेकोले राजनीतिक विषय आफूलाई केहीपनि जानकारी नहुने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ