- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रेपलान्चोक। विश्वव्यापी कोरोना महामारीका कारण जनजीवन प्रभावित भइरहँदा नेपालका आदिवासी जनजातिहरूले भने यस्ता महामारी विरुद्ध आफ्नो आदिवासी प्रथा, परम्परा र ज्ञानको प्रयोग गरेर महामारी विरुद्ध जुध्ने अभ्यासलाई पुनर्स्थापना गरेका छन् ।
कोभिड १९ महामारी संक्रमणको उच्चविन्दूको ग्राफ उक्लिरहँदा आफ्नो थातथलोमा रहेका नेपालका आदिवासीहरूले आफ्नै विधि र व्यवहारबाट कोरोनाबाट बच्ने विभिन्न प्रकारका जुक्तिहरू कार्यान्वयनमा ल्याएका थिए । जसका कारण आदिवासीको परम्परागत जीवनशैली अपनाउनेहरू तुलनात्मक रूपमा सुरक्षित रहेको दाबी गरिएको छ । तर यसको अनुसन्धानात्मक पुष्टि भने हुन सकेको छैन ।
भेजाको सक्रियता
नेपालमा पहिलो र दोस्रो लहरका रूपमा कोरोना महामारी फैलियो । दुबै लहरलाई नियन्त्रण गर्न सरकारले फरक फरक प्रकृतिको बन्दाबन्दी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा बन्दाबन्दी सफल पार्न सुरक्षा फौज नै परिचालन गर्नु परेको थियो । तर आदिवासी समाजमा भने उनीहरूको आफ्नो प्रथा जनित संस्था मार्फत बन्दाबन्दीको घोषणा गरिएको र यसको कार्यान्वयन सफल भएको आदिवासी अभियन्ताहरूको दाबी छ ।
नेपाल मगर महिला सङ्घकी उपाध्यक्ष गङ्गा खासु मगरले आदिवासी मगर समाजमा प्रथा जनित संस्था भेजाका कारण महामारी विरुद्धको सचेतना सफल भएको जानकारी दिइन् । ‘नेपालमा बन्दाबन्दीको समयमा पाल्पाको मगर गाउँमा भेजा प्रणालीले राम्रो काम गरेको छ । भेजाकै सक्रियताका कारण महामारी गाउँमा फैलन पाएन ।’ उपाध्यक्ष खासु मगरले भनिन्-‘महामारीलाई मगर भाषामा हामी देसान भन्छौ । यो देसान भयानक रोग हो र फैलिन्छ भन्ने ज्ञान मगर समाजलाई भेजाका कारण जानकारी भयो ।’
‘भेजाको बैठकले महामारी फैलिएको खबर आए पछि एक गाउँबाट अर्को गाउँमा सामान लाने ल्याउने र आवतजावतमा समेत बन्द गरेको थियो ।’ उनले भनिन् -‘आवतजावत बन्द भएको विशेष चिन्ह मूलबाटोमा लगाइएको थियो । यस्तो चिन्ह लगाए पछि कोही पनि हिँड्न नहुने हाम्रो विश्वास छ । यस्तो सूचना यति प्रभावकारी भयो कि बन्दाबन्दी पूर्ण सफल भयो र संक्रमण गाउँमा प्रवेश गर्न पाएन ।’
भेजा आदिवासी मगर जातिको प्रथा जनित संस्था हो । भेजाले गरेको निर्णय त्यस क्षेत्रमा सबैले पालना गर्नुपर्ने हुन्छ । यो विगत देखिनै चलिआएको परम्परा हो । भेजाको निर्णय कार्यान्वयन गर्ने जिम्मा भेजारीको हो ।
प्रथा जनित संस्थाले गाउँ जोगाए
आदिवासी जनजातिको परम्परागत प्रथाजन्य संस्थाले नै आदिवासीको ज्यान बचाएको आदिवासी जनजाति विज्ञ यशोकान्ति भट्टचनको दाबी छ । शहरी अस्पतालमा कोरोना उपचारका लागि अक्सिजन, भेन्टीलेटर जस्ता स्वास्थ्य सामाग्रीको अभाव भइरहेको बृला आदिवासी समाजको अभ्यासबाट अरू दुनियाँले सिक्नु पर्ने उनको तर्क छ ।
‘जहाँ आदिवासीको परम्परा र प्रथाजन्य प्रचलन बाँचेको छ, त्यहाँका आदिवासीहरू तुलनात्मक रूपमा सुरक्षित छन् । थारुहरूको कैलाली कञ्चनपुर तिर उनीहरूको प्रथा जनित संस्था बरघरले बाहिरका मान्छेहरूलाई गाउँमा छिर्न दिएनन् । यसै गरी आफैले बनाएको स्यानिटाइजरको प्रयोग र पोस्टर पम्पेल्टको प्रयोग गरेका थिए । उनीहरूको सूचना मातृभाषामा नै थियो । मातृभाषाको सूचना उनीहरूले छिटो ग्रहण गर्छन् ।’ राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष समेत रहनु भएकी भट्टचनले यसैमा थप्नु भयो -‘थारुको मात्र नभई हाम्रो मुस्ताङमा थकालीहरूको १३ मुखिया घम्पाहरुले महामारीको समयमा राम्रो कार्य गरेका छन् । थकाली समुदायले आदिवासी समुदायमा कोभिडको समयमा राम्रो भूमिका निर्वाह गरेका छन् ।’
ल्होमीको सूचना प्रणाली
कोरोना महामारीका क्रममा हिमाली आदिवासी ल्होमी (सिंसावा)को सूचना प्रणाली पनि कार्यान्वयनमा आएको छ । परम्परागत ङोरिङबा, गोरु प्रणाली मार्फत कोरोनाबाट बच्ने र बचाउने उपायका बारे प्रचार भएको थियो । आधुनिक सञ्चारमाध्यमको पहुँचबाट टाढा दुर्गम सङ्खुवासभा जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने ल्होमीहरु यसलाई सञ्चार माध्यमका रूपमा प्रयोग गर्ने गर्दछन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी उपाध्यक्ष छिङचिपा ल्होमीका अनुसार यो उनीहरूको परम्परागत सञ्चार प्रणाली हो । गेरुङ हरेक वर्ष छनौट गर्ने परम्परा छ ।
हिमाली १८ आदिवासीहरू मध्ये ल्होमी एक आदिवासी हो । उनीहरूको आफ्नै भाषा छ भने बख्खु तथा विशेष प्रकारको गहना र भेसभुसाले उनीहरूलाई फरक पहिचान दिएको छ । (साभार इन्डिजिनियस फिचर सेवा)