arrow

तालिबान सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै : राष्ट्रसङ्घ

logo
रासस–एएफपी
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
taliban.PNG

काबुल। अफगानिस्तानमा तालिबानहरूले घर–घर जाँदै विपक्षीहरू र उनीहरूको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्ताबेजमा अफगानिस्तानमा तालिबानहरूले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरू सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्ताबेजमा लेखिएको छ ।

सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनीहरूले शासन सुरु गरेका छन् । 

कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरूले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सबैलाई आममाफी दिने घोषणा गरे पनि व्यवहार भने त्यस्तो नभएको दस्ताबेजमा उल्लेख गरिएको छ ।

उनीहरूले महिलाहरूको स्वतन्त्रता नखोसिने, उनीहरूप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातान्त्रिक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए । काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।

तालिबान समूहको खानतलासी र उनीहरूले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरू उडानहरूमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ । 

राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्ताबेजमा विपक्षीहरूलाई तालिबान समूहका व्यक्तिहरूले धम्क्याउने गरेको दाबी पनि गरिएको छ । 

तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थित विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर तालिबान समूहले भने भाग्न खोज्ने अफगान नागरिकहरूलाई रोकिरहेको छ । 

तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरूको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो । 

उनीहरूले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिबान समूहको हातमा आएको छ ।

राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरूलाई सत्ताबाट हटाइदिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ