काठमाडौं । नयाँ सरकार गठनको नयाँ अभ्यास सुरु भएसंगै कांग्रेस केन्द्रीय कार्य समिति बैठकले वर्तमान केपी शर्मा ओली सरकार संकटमा परेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले ओली सरकार स्वतः अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि माओवादी अध्यक्षसंग भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको बैठकमा अधिकांश कांग्रेस केन्द्रीय सदस्यहरुले छलफल नगरी गरिएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा प्रकाशमान सिंह, रामशरण महत लगायतका नेताले पार्टी सभापतिले गरेको सहमतिमा असन्तुष्टी जनाएका थिए । बैठकमा खुमबहादुर खड्का, महेश आचार्य, रमेश लेखक, सुजता कोइराला लगायतका केन्द्रीय सदस्यहरुले समेत धारणा राखेका थिए ।
निर्णयको पूर्ण पाठ
आषाढ २९, २०७३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरवहादुर देउवाको अध्यक्षतामा व्यवस्थापिका–संसद भवन परिसर, नयाँ वानेश्वरमा आज बस्यो । बैठकमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का विचमा सम–सामयीक राजनीतिक घटनाक्रमका सन्दर्भमा हालसम्म भएका छलफल र सहमतिहरूका बारेमा पार्टी सभापतिज्यूको अनुमतिले केन्द्रीय सदस्य श्री बिमलेन्द्र निधिले वैठकलाई जानकारी गराउनु भयो । बैठकमा समसामयीक राजनीतिक घटनाक्रम र पार्टीले लिनु पर्ने आगामी रणनीतिका सम्वन्धमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरूः प्रकाशमान सिंह, खुमबहादुर खड्का, डा. रामशरण महत, महेश आचार्य, सुजाता कोइराला, रमेश लेखक र देवेन्द्रराज कंडेलले संक्षेपमा आ–आफ्नो धारणा राख्नु भयो ।
बैठकको निर्णय देहाय बमोजिम छः
१.नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का वीच २०७३ आषाढ २८ गते भएको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” द्वारा हस्ताक्षरित सहमति पत्रहरूलाई अनुमोदन गर्दै सो को कार्यान्वयन गर्ने निर्णय गर्दछ ।
२.नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारवाट नेकपा (माओवादी केन्द्र) ले आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट भएको छ । तसर्थ, प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले तत्काल राजीनामा गरि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न बैठक माग गर्दछ ।
३.व्यवस्थापिका–संसदमा स्पष्ट वहुमत गुमाई सकेर अल्पमतमा परिसकेपछि पनि प्रधानमन्त्री पदवाट केपी शर्मा ओलीले राजीनामा नगरेको हुँदा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका दलले व्यवस्थापिका– संसदमा वर्तमान सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गर्दछ ।
४.अकस्मात अस्वस्थ हुनु भई उपचारार्थ ॐ अस्पताल चावहिलमा भर्ना हुनु भएका नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्थामा आएको सुधारप्रति सन्तोष व्यक्त गर्दै उहाँको उपचारमा संलग्न चिकित्सक दलका सम्पूर्ण सदस्यहरू प्रति बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ । साथै, महामन्त्री डा. शशांक कोइरालाको शीघ्र पूर्ण स्वास्थलाभको कामना गर्दछ ।
कृष्ण प्रसाद पौडेल
मुख्य सचिव