arrow

इङ्गलिश प्रिमियर लिगको दोस्रो चरणसम्म वेष्टह्याम शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
westham-united-2021.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको दोस्रो चरणको समाप्तिसम्म वेष्टह्याम युनाइटेड शीर्ष स्थानमा रहन सफल भएको छ । दोस्रो चरणको अन्तिम खेलमा लेस्टर सिटीलाई पराजित गर्दै वेष्टह्याम शीर्ष स्थानमा रहन सफल भएको हो । 

सोमबार राति भएको खेलमा १० खेलाडीमा सीमित लेस्टर वेस्टह्यामसँग ४–१ गोल अन्तरले पराजित भयो । वेस्टह्यामलाई जिताउन माइकल एन्टोनियोले दुई तथा पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे ।

लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए ।

२६ औं मिनेटमा पाब्लोले गोल गर्दै वेस्टह्यामलाई शुरुआती अग्रता दिलाए । ४० औं मिनेटमा आयोजे परेजले रातो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा समेटियो ।

५६ औं मिनेटमा बेन्रह्माले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा युरीले गोल गर्दै लेस्टरलाई २–१ को अन्तरमा झारे । 

८० औं मिनेटमा एन्टोनियोले गोल गर्दै ३–१ को अग्रता दिलाए । त्यसको चार मिनेटमै एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्टह्यामलाई ४–१ ले जिताए । 

अंक तालिका 
२ खेलबाट ६ अंकसहित वेष्टह्याम, चेल्सी, लिभरपुल, ब्राइटन एन्ड हभ आल्बियन र टोटनह्याम हट्सपर क्रमशः पहिलोदेखि पाँचौं स्थानमा छन् । यी पाँच टिमले मात्र सतप्रतिशत खेलेका छन् । 

वेष्टह्यामसँग पराजित भएको लेस्टर १२ औं स्थानमा छ । म्यानचेष्टर युनाइटेड, एभर्टन र ब्रेन्टफोर्डको समान ४ अंक छ । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको ३ अंक छ । 

अहिलेसम्म वुल्भरह्याम्पटन, बर्नली, न्यूकासल युनाइटेड, आर्सनल र नर्विच सिटी अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ