काठमाडौं । नेपाली र काँग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकार ढाल्न संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेसंगै नयाँ सरकारमा जानका लागि काँग्रेस र माओवादी नेताहरुको चर्चा भइसकेको छ । विभिन्न संचारमाध्यममा त्यसको समीकरणसमेत आइसक्दा पनि नेपाली काँग्रेसका नेता एवं सभापति शेरबहादुर देउवाका खास मान्छे विमलेन्द्र निधी भने पार्टीमा कुनै छलफल नै नभएको बताउँछन् ।
हाम्राकुरासंग उनले भने, ‘अहिलेको हाम्रो प्राथमिकता प्रधानमन्त्री केपी ओलीलाई बाहिर पठाउने हो, त्यो काम पूरा भएपछिमात्र बल्ल काँग्रेसले कसलाई सरकारमा पठाउने भन्ने निर्णय गर्नेछ ।’
बजारमा आएको चर्चाबारे आश्चर्य प्रकट गर्दै निधीले भने, ‘मैले पनि मेरै नेतृत्वमा सरकारमा जाने भन्ने पनि सुनें, अरु साथीहरुको नाम पनि सुनें, उपसभापति मलाई दिने÷नदिने कुरो पनि सुनें, तर त्यस्तो केही पनि भएको छैन ।’ निधीले थपे, ‘यो सरकारको बहिर्गमन नभएसम्म पार्टीले कसलाई नयाँ सरकारमा पठाउने भन्ने छलफल पनि चलाउने छैन र मैले पनि सोच्ने छैन ।’
माओवादी केन्द्रसंग भएको गठबन्धन र सहमतिबारे काँग्रेसभित्रै पनि असहमतिका स्वर आइरहेका छन् नि भन्ने जिज्ञासामा निधीले स्पष्ट पारे, ‘पार्टी केन्द्रीय समिति बैठकमा माओवादीसंग भएका सहमतिका बारेमा जानकारी गराउँदा केही साथीहरुले हामीसंग पहिले सल्लाह गरेको भए त हुन्थ्यो नि भनेर जिज्ञासा राख्नु भएको हो, विरोध भएको होइन, पहिलो पटक काँग्रेस केन्द्रीय समितिमा सरकारमा जानेबारे सर्वसम्मतिले पारित भएको छ, यो सबैभन्दा ठूलो सकारात्मक पक्ष हो ।’
केन्द्रीय समिति बैठकमा सभापति देउवाले ‘सुशील कोइरालाको पालामा एमालेसंग सहमति गर्दा हामीले थाहा नै पाएनौं, सिटौलाजी (कृष्णप्रसाद सिटौला) ले आएर यस्तो सहमति भएको छ है भनेर जानकारी गराउनु भएको थियो, अहिले त हामीले केन्द्रीय समितिमै जानकारी गराएका छौं’ भनेको निधीले सुनाए ।
केन्द्रीय सदस्य निधीले काँग्रेसभित्र अहिलेको गठबन्धनबारे कुनै विवाद नभएको भन्दै अहिलेको महत्वपूर्ण काम नै जनतामाथि अत्याचार गर्ने एमालेको बहिर्गमन नै हो भनेका छन् ।
निधीले केपी ओलीले काँग्रेस–माओवादी मिलेपछि राजीनामा दिएको भए बेश हुन्थ्यो भन्दै राजीनामा नदिंदा अविश्वासको प्रस्ताव पारित गर्न पनि एक हप्ताको समय लाग्ने बताए ।