arrow

बागमतीमा अष्टलक्ष्मी सरकारको आयु छोट्टियो, मुख्यमन्त्री बनेको एक हप्तामै अल्पमतमा

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १० बिहिबार
asta-laximi-sakya.jpg

हेटौँडा । एमालेकै सरकार टिकाउन भन्दै एकाएक डोरमणि पौडेलले राजीनामा दिएर बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइए पनि उनको सरकार एक हप्तामै धरापमा परेको छ ।

सबैको सहमति र सल्लाहमै आफू मुख्यमन्त्री बनेको बताएकी प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छिन् । आफू मुख्यमन्त्री हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गरी उनले २ मन्त्री नियुक्त गरेकी थिइन् । तर तिनै मन्त्रीले एमाले छाडेपछि उनलाई झट्का लागेको छ । दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएका कृष्णप्रसाद खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि अष्टलक्ष्मी नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको हो।

लामो समयसम्म माधव नेपाल पक्षमा रही एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमको खुलेर विरोध गर्ने गरेकी शाक्य एकाएक मुख्यमन्त्री बनिन् । एमाले जोगाउन र विभाजन हुन नहुने भन्ने सन्देश दिनका लागि मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएकी उनी एक हप्ता मै अल्पमतमा परेकी छिन् । एमाले टुक्रिएर माधव नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएपछि अष्टलक्ष्मीलाई पूर्व एमाले अर्थात् हालको नेकपा एकीकृत समाजवादीका सांसदले साथ नदिने सङ्केत देखिएको छ । योसँगै उनको पद पनि धरापमा परिसकेको प्रस्ट छ । 

त्यसो त एमालेको एक्लो बहुमत रहेको बागमती प्रदेशमा हाल बहुमतका लागि ५५ जनाको समर्थन चाहिन्छ । एमाले नफुट्दासम्म एमालेका ५६ सांसद दिए तर सांसद राजेन्द्र पाण्डे र शाक्यले नै नियुक्त गरेका मन्त्री कृष्णप्रसाद खनाल नयाँ दल तिर लागेपछि स्वतः सङ्ख्या घटिसकेको छ ।
 
बागमतीमा हाल १ सय ९ प्रदेशसभा सदस्य छन्। सरकार गठनको लागि ५५ जना सांसद आवश्यक पर्छ। तर अष्टलक्ष्मीको समर्थनमा त्यो सङ्ख्या पुग्दैन । पूर्व एमालेका अन्य केही सांसद पनि नेकपा एकीकृत तिरै लागेका छन् । यद्यपि औपचारिक रुपमा गइसकेका भने छैनन् । यसरी हेर्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारको पनि आयु लामो नरहेको स्पष्ट छ । 

अर्को तर्फ तत्कालको अङ्कगणित हेर्ने हो भने प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा एकीकृत समाजवादीले मात्र पनि नयाँ सरकार गठन हुने सम्भावना छैन । यसमा साना दलको भूमिका निर्णायक देखिन्छ । तर जसपाका १, विवेकशील साझाका ३, नेमकिपाका २ र राप्रपाका २ सांसद भए पनि काँग्रेस, माओवादीलगायतको सरकारलाई यी साना दलले समर्थन नगर्ने सम्भावना धेरै छ । त्यसो हुँदा नयाँ सरकार गठनका लागि चाहिने मत अपुग हुन्छ । तर आफू सँग १२ जना सांसद रहेको दाबी नेकपा एकीकृत समाजवादीले गरेको छ यदि त्यसो भएमा सजिलै नयाँ सरकार बन्नेछ । 

माओवादी केन्द्र, काँग्रेस र नेकपा एकीकृत समाजवादीको हालको अवस्थामा ८ सांसद अपुग हुन्छन् । यदि माधव नेपालको नयाँ दलमा थप ९ सांसद थपिए भने नयाँ सरकार गठन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ