arrow

पर्यटन विश्राम स्थल तथा पदमार्ग निर्माण लुकेको थामको डाँडा पर्यटकको गन्तव्य बन्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार ३० बिहिबार
syangja.jpg.jpeg
स्याङ्जा। स्याङ्जा जिल्ला आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । जिल्लाको मध्यभागबाट बग्ने आधीखोला र मुलुककै पुरानो सिद्धार्थ राजमार्ग समेत मध्यभाग हुदै गएकाले पनि जिल्लालाई थप सुन्दरता दिन सफल भएको  छ । 
 
 भौगोलिक अवस्थाले पनि जिल्लाभित्र लुकेको पर्यटकीय क्षेत्रको खोजी नहुदा त्यस्ता क्षेत्र कति लुकेका छन् भने कति क्षेत्रलाई पर्यटनको गन्तव्यका रुपमा विकसित हुन थालेका छन् । जसका कारण स्याङ्जा धार्मिक, साँस्कृति, कृषि तथा जलस्रोतको सदुपयोग हुन सकेमा पर्यटक तान्ने गन्तव्यका रुपमा रहेको छ ।  
 
जेष्ठको १५ गते मुलुकको बजेट भाषणबाट नेपालका १० शहरहरु मध्ये स्याङ्जाको वालिङलाई स्मार्ट सिटि बनाउने घोषणा सरकारले गरेको थियो ।  जिल्लाको मध्यभागमा रहेको वालिङ आफैमा सुन्दर शहरका रुपमा परिचित हुदै आएको छ । मुलुकका विभिन्न भागमा मात्रै नभएर देश विदेशमा समेत जिल्लाको मध्यभागबाट नागवेली झै वगेको आधीखोलाको नामले परिचित रहेको स्याङ्जा त्यसैमा आधीखोलाको किनारमा रहेको वालिङ व्यपारीक केन्द्र पनि हो । 
थामको डाँडामा निर्माण गरिएको घुमाउरो प्रतिक्षालय
वालिङ नगरपालिका भित्रै यस्ता थुप्रै स्थानहरु छन् जो प्रचार प्रसार र आर्थिक रुपले समेत पर्यटकीय गन्तव्य स्थलका रुपमा ओझेलमा पर्दै आएका छन् । वालिङ नगरपालिका वडा नं. ५, ६, ७, ८ र जगतभञ्याङ गाविसको मध्यभागमा रहेको थामकोडाँडालाई यहाँका स्थानीयहरुले पर्यटन विश्राम स्थल तथा पदमार्गको रुपमा विकास गर्न निर्माणको थालनी गरेका छन् । 
 
धार्मिक रुपले चिनिएको पर्यटन केन्द्र लुम्विनी र प्राकृतिक सुन्दरताले भरिएको पर्यटन केन्द्र पोखराको मध्यभागमा पर्ने वालिङ पर्यटकहरुका लागि विश्राम स्थल बन्न सक्छ । दुई क्षेत्रलाई मध्यनजर गरेर यहाँका स्थानीयहरुले थामको डाँडालाई पर्यटन विश्राम स्थलको रुपमा विकास गर्न अगाडी बढ्दै छन् । लुम्विनी देखि पोखरा पर्यटन क्षेत्रको रुपमा विकास भएकाबेला वालिङलाई पनि पर्यटकको विश्राम स्थलको रुपमा विकास गर्न थालनी गरेको थामकोडाँडा पर्यटक स्थल निर्माण समितिका अध्यक्ष मुक्तिप्रसाद पाण्डे बताउछन् । 
 
चारैतिर जंगल छ समितिका अध्यक्ष पाण्डेले भने,“विचभागमा खाली जग्गाको प्रयोग गरि यहाँ विभिन्न खालका भवनहरु बनाउने सोचमा छौं ।” जसबाट आगमन भएका पर्यटकहरुलाई बसेर दृश्यावलोकन गर्न सजिलो हुने छ । शान्त वातावरणमा रहेको यो क्षेत्रमा छुट्टै खालको आनन्द अनुभुति हुने पनि अध्यक्ष पाण्डेको भनाई छ । 
करिव ८ हेक्टर सार्वजनिक जग्गालाई यहाँका स्थानीयले पर्यटकीय स्थल बनाउन खोजेका छन् । 
 
क्षेत्रिय पर्यटन वोर्ड पोखराबाट भवन निर्माणका लागि ५ लाख र जिल्ला विकास समितिबाट खानेपानी, सडकका लागि १ लाख अनुदान रकमबाट भौतिक निर्माण शुरु भइसको छ । यसको प्रचार प्रसार गरेर सरकारले पनि स्थलगत निरिक्षण गरि प्राकृतिक अनुकम भएको यस क्षेत्रलाई विकास गर्न सकिएमा वालिङ मात्रै नभएर स्याङ्जाको विकास हुने निर्माण समितिका सचिव झलकनारायण पाण्डेले बताए । सरकारले निरन्तर बजेट दिने काम गरेमा यहाँका स्थानीयहरु लक्ष्य अनुसार अगाडी बढ्न सजिलो हुने सचिव पाण्डेको भनाई छ । 
 
करिव ७५ लाखको यस क्षेत्रको गुरुयोजना समेत पर्यटन वोर्डमा पेश गरिएको छ । पर्यटन वोर्डले निर्माणका लागि आर्थिक सहयोग गरिदिएमा यस क्षेत्रको छिट्टै विकास हुनेमा स्थानीयहरु रहेका छन् । सिद्धार्थ राजमार्गबाट एक घण्टाको पैदल यात्रा र सवारी साधनमा २० मिनेटमा पुग्न सकिने थामको डाडा पर्यटक स्थल वालिङ बजारको उच्च भागमा रहेको छ । यस क्षेत्रबाट नागवेली झै वगेको आधीखोला, हिमश्रखला, रमणीय पहाडी डाँडाहरुहरु देख्न पाइन्छ भने स्थलगतमा विभिन्न बन्यजन्तुहरु समेत अवलोकन गर्न पाइने स्थानीय नेत्रप्रसाद पाण्डे बताउछन् । यहाँ पैदलमाग हुदै आउने पर्यटकका लागि विभिन्न ठाँउहरुमा ट्रस, होम स्टे, गुरुङ संस्कृतिका साथै ब्रामणहरुको पनि संस्कृति लगायतका संस्कारहरुको समेत अवलोकन गर्न पाइने व्यवस्था सहित यो पर्यटन केन्द्रको रुपमा विकसित गरिने बताइएको छ । स्थानीय जनशक्तिको समेत परिचालन गरेर अगाडी बढ्ने लक्ष्यका साथ निर्माण गर्न लागिएको पर्यटक विश्राम स्थलका लागि राज्यले पनि साथ दिन सकिएमा यस क्षेत्रमा आर्थिक रुपका साथै वालिङलाई विश्वसामु चिनाउन पहल हुने देखिन्छ । 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ