arrow

आफुले दिएको निर्देशन पालना नगर्नेलाई हटाईदिने पर्यटनमन्त्रीको उर्दी

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
Paryatan-Mantri-Airport.JPG.jpeg
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मन्त्रालयमा रहँदासम्म पर्यटनको विकास र हितमा काम गरिरहने दृढता व्यक्त गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) एयरपोर्ट इलाका कमिटीद्धारा आयोजित एयरपोर्ट क्षेत्र विकास, सुधारका साथै सामाजिक सुरक्षा सम्बन्धी अन्तक्रियामा मन्त्री पोखरेलले मन्त्रीलाई नटेर्नेहरुलाई हटाईदिने चेतावनी दिए । 
 
उनले भने, ʽ बाहिर जति हल्ला भएपनि अहिले हामी अल्पमतमा छैनौं, जतिदिन मन्त्रालयमा हुन्छु मन्त्रालयको काम गर्छु, प्रधानमन्त्रीको राजीनामा नभएसम्म काम गर्छु, यदि कसैले मन्त्रीलाई टेरेन भने त्यसलाई हटाईदिन्छु ।ʼ
 
२ गते विमानस्थल सुधारबारे निर्देशन दिने
 
नीजि सेवा प्रदायकहरुलाई सुधार गर्न नसकेको स्विकार गर्दै पर्यटनमन्त्री पोखरेलले साउन २ गते विमानस्थल परिसर निरिक्षण गरि आवश्यक सुधारको निर्देशन दिने बताएका छन् । सामाजिक न्याय नगर्ने र श्रमिकले परिचयपत्र माग्दा लाजपूर्जा माग्ने ठेकेदारहरुको छानबीन गरि कारबाही गर्ने उनको चेतावनी छ ।
 
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले विमानस्थललाई विमानस्थल जस्तो बनाउने अभियानमा लाग्न आग्रह गर्दै ʽगलत गर्दैनौं तर सहँदैनौंʼ भन्ने मान्यता अनुरुप काम गर्न विमानस्थलका श्रमिकहरुलाई आग्रह गरे ।
 
त्यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपमहासचिव जनक चौधरीले सिङगो विमानस्थलमा कति कम्पनी छन् ?, कसले के कस्तो जिम्मेवारी लिएका छन ?, कुन उदेश्यले कसले के काम गरिरहेको छ ? कति श्रमिकहरु कार्यरत छन् ? लगायत यावत विषयलाई जिफन्टले अध्ययन गरेर एयरपोर्टको विकृति विसंङ्गती अन्त्यको अभियानमा आजैदेखि कार्य सुरु गरिने बताए ।
 
कार्यक्रममा यूनिट्राभका महासचिव सुमन पराजुलीले एयरपोर्टका श्रम समस्या लाई ७ दिनमा समाधान गर्न अल्टिमेटम दिंदै सो अबधिमा माग सम्बोधन नभए विमानस्थल नै ठप्प पार्ने चेतावनी दिए । उनले भने, ʽ७ दिनभित्र श्रमिकको समस्या समाधान भएन भने एयरपोर्ट बन्द गरिदिन्छौं, पर्यटनमन्त्री, प्रधानमन्त्री जो आएपनि एयरपोर्ट खुल्दैन । त्यसको जिम्मेवारी लिन सम्बन्धित निकायलाई आग्रह गर्दछौं। ʼ
 
राष्ट्रिय वायुसेवा निगम नेपाल वायुसेवा निगमले नै श्रमिकलाई मार्छ भने नेपाली जहाज किन चढ्ने भन्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गरिने उनको चेतावनी थियो । जायज माग राख्दा राख्दै मजदुरलाई खेद्ने काम भयो भने त्यसलाई कानुनअनुसार तह लगाउने उनको भनाई थियो ।कार्यक्रममा एयरपोर्टका श्रमिकहरुले नियुक्तिपत्र, न्यूनत्तम पारिश्रमिक, बीमा, सामाजिक सुरक्षा,संचयकोष लगायत विमानस्थल सुधारबारे बुँदागतरुपमा समेटिएको ज्ञापनपत्र पर्यटनमन्त्री आनन्द पोखरेलाइ बुझाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ