लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल : विदेशी गिरोह नै नेपालमा, फोनबाटै ओसार पसार
विद्यार्थीको आवरणमा दुई वर्षदेखि कोकिनको कारोबार
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ भदौ १५ मंगलबार
1.7k
Shares
काठमाडौं। लागू औषधको कारोबारमा संलग्न विदेशी नागरिकले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका छन् । लागू औषधको कारोबारमा पछिल्लो समय विदेशी नागरिकको गिरोह नै नेपालमा सक्रिय हुन थालेको छ । मुख्यगरी कोकिन नामको लागू औषधलाई नेपालको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरिएको छ ।
हवाई यातायातमार्फत नेपाल आउन र आफूले ल्याएका पदार्थ नेपालबाट भारततर्फ निर्यात गर्न सहज हुने भएपछि विदेशी नागरिकले नेपाललाई लागू औषधको ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका हुन्। यस्तै पछिल्लो समय यसरी ल्याइएका पदार्थको खपत नेपालमासमेत बढ्न थालेको छ ।
नेपाल प्रहरीको लागू औषध ब्युरोका अनुसार पछिल्लो समय नेपालमा लागु औषध ‘कोकिन’को ओसारपसार बढी देखिएको छ । बोलिभिया, पेरु जस्ता दक्षिण अमेरिकी मुलुकमा उत्पादन हुने कोकिन ल्याउन विदेशी गिरोह नै सक्रिय हुँदै आइरहेका छन् ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठ नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा विन्दुका रूपमा भने विदेशी नागरिकले प्रयोग गर्दै आएको देखिएको बताउँछन् ।
‘नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा विन्दुका रूपमा भने विदेशी नागरिकले प्रयोग गर्दै आएका छन्, यो प्रक्रियामा ओसार पसारमा रहेको ‘क’ व्यक्तिले ‘ख’ लाई र ‘ख’ ले ‘ग’ लाई नचिन्न पनि सक्छ, तर तस्करीमा भने अनेक उपाय लगाउने गरेको देखिन्छ,’ ब्युरोका प्रवक्ता श्रेष्ठले भने ।
उनका अनुसार लागू औषध ल्याउने र पुर्याउने समयको अन्तराल भने उनीहरूले अनुकूल खोज्ने गरेका छन् । यस्तै ओसारपसारमा संलग्न व्यक्तिका बीच चिनजान र परिचय नभए पनि ओसारपसारका क्रममा उनीहरूले विभिन्न सङ्केतमार्फत फोन संवाद गर्ने गरेको पाइन्छ ।
यसरी नेपाल ल्याइने कोकिन ब्राजिलको साउपालो एयरपोर्ट हुँदै कहिले सिधै भारत र कहिले युएई र कतारमार्फत नेपाल ल्याइने गरिएको छ । लागू औषध कोकिन अत्यन्तै महँगो मध्येको लागू औषध पदार्थमा पर्दछ ।
यो पदार्थ विगतमा भने नेपाल ट्रान्जिट प्वाइन्ट हुँदै भारत निर्यात हुने गरेकोमा कमी आएको तर खपत बढेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर पछिल्ला केही दिनदेखि फेरी निर्यातमा विदेशी गिरोह नै लागेको देखिन थालेको हो ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कले कोकिनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको छ । प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा भने १४ केजी कोकिन बरामद गरेको तथ्याङ्क देखाउँछ ।
आइतबार भने ब्युरोले एकै दिन करिब तीन किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार सो कोकिन करिब ९ करोड नेपाली मूल्य बराबरको हो ।
यसअघि गत १८ साउनमा पनि एक किलो १२ ग्राम कोकिन सहित नौ जना नेपालीलाई ब्युरोले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । त्यसअघि सोही समूहसँग जोडिएका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो भने उक्त घटनामा अर्का एक जना पछि पक्राउ परेका थिए । पक्राउ परेका ती भने सबै नेपाली नागरिक नै थिए । तर, सो कोकिन ल्याउने मुख्य व्यक्ति भने विदेशी नै रहेको अनुसन्धानमा खुलेको थियो ।
‘अपरेसन कोक-२’
लागू औषध नियन्त्रण ब्युरोले आइतबार नियन्त्रणमा लिएको कोकिनको सर्च अपरेसनलाई ‘अपरेसन कोक-२’ नाम दिएको छ । सो अपरेसनमार्फत ब्युरोले करिब तीन किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा अफ्रिकी नागरिक ३० वर्षीय शीर्ले गामा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारो छन् ।
पक्राउ परेकामध्ये गामाले गत ३ भदौमा लागू औषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको सो अपरेसनमार्फत प्रहरीले खुलासा गरेको हो । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार उनी कतार एयरवेजमार्फत नेपाल आएकी थिइन् ।
उनले सुटकेसभित्र फल्स बटम बनाएर कोकिन ल्याएकी थिइन् । सो सूचनाकै आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईँको नेतृत्वमा खटिएको टोलीले उनी विमानस्थलबाट कमलादीस्थित होटेलमा पुगेपछिसमेत निगरानी राखेको थियो ।
प्रहरीका अनुसार होटेलमा जब कोकिन लिन भारतीय नागरिक विजय सिंह पुगे त्यसपछि प्रहरीले गामा सहितदुवैलाई पक्राउ गरेको हो । यो अपरेसन प्रहरीले पाएको विशेष सूचनाका आधारमा गरिएको थियो ।
सोही क्रममा कोकिन कारोबारमा किमारो पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनकोसमेत पिछा सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई वर्षदेखि काठमाडौं बस्दै आएकी किमारोलाई भारत भाग्न लागेको अवस्थामा ९ भदौमा सिन्धुलीको खुर्कोटबाट नियन्त्रणमा लिएको थियो ।
विद्यार्थीको आवरणमा कारोबार
किमारो दुई वर्षदेखि काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी विद्यार्थी भिसामा दुई वर्षदेखि काठमाडौंमा थिइन् । प्रदर्शनीमार्गस्थित विश्व भाषा क्याम्पसमा नेपाली भाषा सिक्ने आवरणमा उनी नेपाल रहँदै आएको प्रहरीले बताएको हो ।
विश्व भाषामा नेपाली भाषा सिक्ने र भित्री रूपमा कोकिनको कारोबारमा गिरोह नै चलाउने उनी क्षेत्रपाटीको एक घरमा मासिक २० हजारमा फ्ल्याट भाडामा लिएर बस्दै आएको प्रहरीले बताएको हो । उनले यहाँ बसेर भारतीय तस्करहरूसँग कनेक्सन गर्ने गरेको पछिल्लो घटनाले पुष्टि गरेको हो ।
‘विद्यार्थीको आवरणमा उनी दुई वर्षदेखि कोकिनको कारोबार गरेर नेपाल बसिरहेको देखिएको छ, किमारोले नेपाललाई ट्रान्जिट बनाएर भारतमा कोकिन पठाउने गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् ।
कोही ल्याउने कोही पुर्याउने
प्रहरीले पक्राउ गरेका मध्ये गामाले कतारबाट नेपालसम्म कोकिन ल्याइदिने काम गरेको देखिन्छ । त्यसपछि भारतमा मध्यस्थकर्ता बनेर सम्पर्क स्थापित गर्ने र त्यहाँसम्म पठाउने काम किमारोले गर्दै आइरहेको अनुसन्धानमा खुलेको छ ।
के हुन्छ कारबाही ?
प्रहरीले पक्राउ गरिएका विरुद्ध लागु औषध नियन्त्रण ऐन-२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार कोकिन कारोबारमा संलग्नलाई १५ वर्ष जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
२०१९ डिसेम्बर २१ को त्यो दिन
२०१९ डिसेम्बर २१ को दिन ‘थ्रि ब्रदर्श’ नाम गरेको एक होटेलमा विदेशीहरू आएर बसेका हुन्छन् । उनीहरू कोकिनको कारोबारमा संलग्न हुन्छन् । त्यसै होटेलमा एक महिला काम गर्छिन् ।
ती काम गर्ने महिलालाई कोठा सफा गर्ने समयमा ती विदेशीले लगाएको ज्याकेट मन पर्छ र घर लिएर जान्छिन् । घर पुर्याएपछि ती महिलालाई ज्याकेट गह्रुङ्गो लाग्छ खोतल्दा र केही वस्तु भेटिन्छ । त्यो वस्तु के हो भन्ने उनले ठम्याउन नसकेपछि आफन्तको सहारा लिएर उनीहरू सो वस्तु पत्ता लगाउन लाग्छन् । सो वस्तु कोकिन भएको पुष्टि हुन्छ र ठुलो रकम हात पर्ने लोभमा उनीहरू बजारको खोजीमा पुग्छन् ।
सो सूचना प्रहरीले पाएपछि उनीहरू प्रहरीको निगरानीमा पर्छन् । सोही क्रममा पहिले चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हुन्छ । त्यसपछि भने प्रहरीले उनीहरूबाटै सूचना लिएर अन्यको खोजी सुरु गर्दा थप नौ जना पक्राउ पर्छन् ।