arrow

कांग्रेस महाधिवेशन: ललितपुर जिल्ला सभापतिमा १० आकांक्षी, पाँच जनामा मुख्य प्रतिस्पर्धा

logo
युवराज गौतम,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
nepali-congress-lalitpur.jpg

ललितपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन संघारमा रहेका बेला ७७ वटै जिल्लामा अधिवेशनको चटारो शुरु भएको छ । कोभिडको महामारी एवं वाढी पहिरो र डुवानका समस्याका बाबजुत गाउँगाउँमा कांग्रेसको अधिवेशनको माहोल तातेको छ । गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेशका साथै केन्द्रीय नेतृत्वका लागि आकांक्षीहरु दौडधुपमा छन् । प्रतिनिधि संख्याका हिसाबले काठमाडौं पछि धेरै संख्या रहेको ललितपुरको अधिवेशन स्थानीयस्तरका नेता कार्यकर्तादेखि केन्द्रीय नेताहरुको नजरसम्म परेको छ ।

केन्द्रीय नेताहरुको प्रत्यक्ष सम्पर्क र छत्रछाँयामा रहेका ललितपुर कांग्रेस नेतृत्वका आकांक्षीहरुले माथिदेखि तल्लोस्तरसम्म मिलाउन दौडधुप गरिरहेका छन् । पूर्व अर्थराज्यमन्त्री एवं तरुण दलका पूर्व अध्यक्ष उदयशमसेर राणा र नेपाल तरुण दलका वहालवाला केन्द्रीय अध्यक्ष जितजंग बस्नेत पनि सोही जिल्लाबासी भएकाले ललितपुरको भावी नेतृत्वलाई महत्वका साथ हेरिएको छ ।

मुलुकको हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिल्ला, पार्टीको केन्द्रीय कार्यालय रहेको जिल्ला साथै प्रजातन्त्र प्राप्तीको आन्दोलनमा हिस्सेदार भूमी भएकाले पनि ललितपुरमा सबैको नजर पर्नु स्वाभाविक भएको नेता प्रमोद शर्मा बताउँछन् । उनी भन्छन्,‘यहाँका सबै आकांक्षीहरु अहिले दौडमा रहेपनि अन्तिममा सहमति र एकताको भावना अनुसार अघि बढ्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

हुनत ललितपुर सभापतिका लागि करिब १० जनाले इच्छा देखाएपनि मुख्य प्रतिस्पर्धा ४ वा ५ जनाको हुने भएको छ । विधानमा व्यवस्था भए अनुसार लगातार दुई कार्यकाल सभापति भएको व्यक्ति लगातार तेस्रो पटक उम्मेद्वार हुन नपाउने भएकोले वर्तमान सभापति मदन बहादुर अमात्य उम्मेदवारको रेसबाट अलग छन् । अमात्यले सभापति उम्मेदवारी दिन नपाउने भएसँगै नेता मथुराप्रसाद घिमिरे, प्रमोद शर्मा, जितेन्द्र मलेकु श्रेष्ठ, रामकृष्ण चित्रकार, खोमप्रसाद घिमिरे, मीनकृष्ण महर्जन, रविन्स शर्मा, गजेन्द्र महर्जन, प्रकाशनन्दन जोशी सभापतिको दौडमा छन् । यसमध्ये पाँच जना मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

विगत ३० बर्षदेखि जिल्ला सभापतिकै लागि आकांक्षा राख्दै आएका मथुराप्रसाद घिमिरे यस पटकको अधिवेशनले नेतृत्व चयनमा परम्परा तोड्ने संकेत गर्छन । यस पटक क्रियाशील सदस्यको संख्या बढेको साथै नयाँ र मिश्रित प्रतिनिधि चयन भएर आउने भएकाले साझा सहमतिमै सबै आकांक्षीलाई उचित सम्बोधन हुनेगरी व्यवस्थापन जरुरी रहेको घिमिरे औंल्याउँछन्।

विगतका अधिवेशनहरुमा ललितपुरमा जातीयता वा समूदाय, क्षेत्रीयता र केन्द्रीय नेताहरुको गुटका कारण नेतृत्व चयनमा प्रभाव परेको भएपनि यसपटक प्रतिनिधिहरु धेरै नयाँ अनुहारहरु आउन निश्चित भएकाले यसै भन्न सक्ने अवस्था छैन् । नयाँ थपिएका क्रियाशीलहरु ललितपुरका स्थानीय मात्र नभइ बाहिरी जिल्लाबाट बसाइँ सराइ आएका अन्य समूदायका व्यक्तिहरुको संख्या बढी भएकाले पुरानो परम्परा तोडिने अनुमान पनि गरिएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा एक महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकामा करिब १२ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् । जिल्ला नेतृत्वका लागि आकांक्षा देखाएकाहरुबीच साझा सहमति भएमा संघ, प्रदेश र स्थानीय तहहरुमा उचित स्थान पाउने अपेक्षा पनि गरिएको छ ।

कांग्रेसले यही भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन शुरु गर्दैछ । भदौ २७ मा गाउँ तथा नगर अधिवेशन, आगामी असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ । यस्तै, आगामी कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।

जिल्ला नेतृत्वका लागि मुख्य प्रतिस्पर्धी यसका प्रकार रहेका छन्ः 

मथुराप्रसाद घिमिरे

ललितपुरमा हालका अन्य प्रतिस्पर्धी भन्दा पुराना र अग्रज मानिएका मथुराप्रसाद घिमिरे सभापतिका प्रवल दाबेदार मानिन्छन् । तत्कालिन केन्द्रीय सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सामिप्यमा रहेर कांग्रेसको राजनीतिमा होमिएका उनी ९ औं अधिवेशनबाट क्षेत्रीय सभापति हुँदै सडक संघर्षका बेला प्रथम राष्ट्रपति डा.रामवरण यादव संयोजक रहेको मध्यमाञ्चल समितिको सदस्य सचिवको भूमिका निर्वाह गरिसकेका छन् । १० औं महाधिवेशनमा तत्कालीन सभापति सागर शम्शेर राणासँग झिनो मतले पराजित भएका उनी त्यसपछिका सबै अधिवेशनहरुमा सभापतिमा आकांक्षा राख्दै आइरहेका छन् ।

लोकतन्त्र स्थापना साथै सबैखाले सामाजिक अधिकार प्राप्तीको आन्दोलनहरुमा अग्रणी भूमिकामा देखिने गरेका घिमिरे ११औं, १२औं र १३औं महाधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गर्दै आए पनि सभापतिको कुर्सीमा भने बस्ने सौभाग्य पाएका छैनन् । तर १४औं महाधिवेशनबाट आफू सभापति बनेरै छाड्ने र अन्य आकांक्षी तथा नेता-कार्यकर्ताहरुलाई उचित व्यवस्थापन गर्ने बताउँछन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनका बेला बहुदलका लागि प्रचार गर्दै राजनीतिमा आएका घिमिरे पार्टीको ८औं महाधिवेशनबाट निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै आएका छन् । अहिलेसम्म आफ्नो परीक्षण हुने मौका नपाएकाले यस पटक कार्यकर्ताहरुले सभापतिमा विजयी गराएर आम जनता र संगठनमा डटेर काम गर्दै आफ्नो परीक्षण गर्नेमा ढुक्क छन् ।

प्रमोद शर्मा

मुख्य प्रतिस्पर्धामा रहेका आकांक्षी जति दौडमा छन् त्यति रस्साकस्सीमा नदेखिए पनि शेर बहादुर देउवा टीमबाट प्रमोद शर्मा साझा उम्मेद्वार बन्ने संभावना छ । किनकी मथुराप्रसाद घिमिरे बाहेक अन्य केही आकांक्षीहरुलाई राजनीतिमा डोहोर्याएका शर्मा २०३६ सालमा वहुदलको प्रचारमा खटिएदेखि नै राजनीतिमा सक्रिय छन् । उनको ललितपुरमा भिन्न राजनीतिक छाप छ ।

२०४६ सालको जनआन्दोलनताका नेविसंघ ललितपुरको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका शर्मा क्षेत्रीय सभापति हुँदै कांग्रेसको सक्रिय राजनीतिमा छन् । हरेक राजनीतिक परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्दै आएका उनी १४औं अधिवेशनमा परिआएको खण्डमा पार्टीको नेतृत्व सम्हाल्दै अभिभावकको जिम्मेवारी सम्हाल्न प्रतिवद्ध रहेको बताउँछन् ।

जितेन्द्र कुमार श्रेष्ठ मलेकु

ललितपुर क्षेत्र नम्बर ३ मा वि.स.२०५० सालमा वडा इकाइको सभापति हुँदै सक्रिय राजनीतिमा आएका जितेन्द्र कुमार श्रेष्ठ विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हाल जिल्ला सभापतिको रेसमा छन् । २०५२ सालमा क्षेत्रीय कोषाध्यक्ष, ०५७ सालदेखि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, जिल्ला कोषाध्यक्ष हुँदै १३औं अधिवेशनमा जिल्ला सभापतिमा झिनो मतले पराजित भएकाले यस पटक स्वभाविक रुपममा सभापतिको आकांक्षी भएको बताउँछन् ।

केन्द्रमा प्रकाशमान सिंहसँग निकट मानिएका मलेकु यस पटकको महाधिवेशनमा नयाँ समीकरण नबन्ने भएकाले आफूले सभापतिमा विजयी हुने दाबी गर्छन् । यसपटक दोब्बरको संख्यामा क्रियाशील थपिएकाले नयाँ र युवा अनुहारहरु प्रतिनिधि छनोट भएर आउने कारणले सक्रियताका आधारमा आफूले बाजी मार्ने जितेन्द्रको दाबी छ । यसपटक सभापतिमा विजयी भएर आफूले अन्य आकांक्षीहरुलाई राष्ट्रिय निर्वाचनहरुमा उम्मेदवार बनाएर जिताउने, पार्टीको हरेक क्रियाकलापहरुलाई दस्तावेजीकरण गर्दै कांग्रेसलाई विधि, विधान र पद्धती अनुसार अघि बढाउने सोच उनले सुनाए ।

रामकृष्ण चित्रकार

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका रामकृष्ण चित्रकार नेविसंघको नेपालगन्ज महाधिवेशनमा कल्याण गुरुङसँग पराजित भएपनि ललितपुर कांग्रेसमा निरन्तर सक्रिय हुँदै आएको बताउँछन् । २०४२ सालबाट नेविसंघबाट राजनीतिक यात्रा तय गरेका उनी २०४६ सालमा नेविसंघको जिल्ला सभापति साथै पटक पटक पार्टीको जिल्ला सदस्य भएर काम गरेको, नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेको र ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएर काम गरिसकेकाले १४औं महाधिवेशनमा जिल्ला सभापतिको स्वभाविक दाबी हुने बताउँछन् । चित्रकार यसपटक स्वतन्त्र र साझा उम्मेदवार बन्ने र विजयी भएर पार्टीलाई गतिशिल बनाउने दाबी गर्छन् ।

मीनकृष्ण महर्जन

विशेषगरी खेलकुद र सामाजिक क्षेत्रलाई पृष्ठभूमि बनाएका मीनकृष्ण महर्जन कांग्रेसको सक्रिय राजनीतिमा छन् । २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाका लागि सडकमा उत्रिएका उनी २०५६ सालमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभागमा उपप्रमुखमा नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद परिषदको केन्द्रीय कोषाध्यक्ष भइसकेका उनी नेपाल तरुण दलमा वालकृष्ण खाँण सभापति भएका बेला केन्द्रीय सदस्य भइसकेपछि १० बर्ष निरन्तर केन्द्रीय सदस्य भएको र त्यसपछि पनि पार्टीको महासमिति सदस्य भएर सक्रिय भूमिका निर्वाह गरिसकेकाले १४औं महाधिवेशनमा जिल्ला सभापतिमा दाबी प्रश्तुत गरेको बताउँछन् । ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ (ख)मा एमाले उम्मेदवार चेतनाथ सञ्जेलसँग पराजित भएका उनी आगामी राष्ट्रिय निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई विजयी गराएर एक नम्बर पार्टी बनाउने अभियानका साथ जिल्ला सभापतिको दौडमा उत्रिएको बताउँछन् ।

क्षेत्रीय सभापतिका दाबेदार

तीनवटा प्रतिनिधि सभा क्षेत्र रहेको ललितपुरमा क्षेत्रीय सभापतिमा दर्जन बढीले आकांक्षा देखाएका छन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय उपसभापति रामकृष्ण लामा, सचिव सुन्दर मान थिङ र जिल्ला सदस्य प्रभाकर पोखरेलले इच्छा देखाएका छन् । क्षेत्र नं २ मा सभापतिमा वर्तमान सभापति महेश खड्का, महेन्द्र देव सिंहलगायतले आकांक्षा देखाएका छन् । क्षेत्र नं ३ मा सभापतिका लागि नेविसंघ पूर्वजिल्ला सभापति, पूर्वकेन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय कार्यवाहक सभापति सानुबाबु महर्जन, विश्व तुलाधर, ज्योति थापा, महेश्वर थापा, जितेन्द्र महर्जनलगायतको नाम चर्चामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ