arrow

काठमाडौं कांग्रेस हाँक्न आधा दर्जन आकाङ्क्षी, गुटैपिच्छे उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
congress-kathmandu-2078.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुरुवाती प्रक्रिया १८ भदौबाट सुरु हुँदैछ । कांग्रेसको विधान अनुसार सबैभन्दा तल्लो तह वडादेखि माथिल्लो तह केन्द्रसम्म नै महाधिवेशनको रौनक बढेको छ ।

यही क्रममा कांग्रेस केन्द्रपछिको केन्द्रका रूपमा मानिने काठमाडौंको नेतृत्वका लागिसमेत आकाङ्क्षीहरूले आफ्नो चुनावी तयारीलाई तीव्रता दिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला भएका कारण पनि काठमाडौंको नेतृत्वका लागि नेताहरूको दौडधुपसमेत अन्यत्र भन्दा बढी  र विशेष रहन्छ ।

काठमाडौंमा पार्टीको केन्द्र अनुसारका गुट पिच्छे नै सभापतिका आकाङ्क्षीहरू मैदानमा देखिएका छन् । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट २५० भन्दा बढी महाधिवेशन प्रतिनिधि छानिन्छन् । यसले केन्द्रीय महाधिवेशनमासमेत महत्त्वपूर्ण अर्थ राख्छ ।

कांग्रेस विधानमा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
काठमाडौं जिल्लाको नेतृत्वका लागि हालका जिल्ला सभापति सबुजकृष्ण बानियाँले फेरी पनि इच्छा देखाएका छन् । उनी पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

यस्तै क्षेत्रीय सभापति रहेका उपेन्द्र कार्की र राजु श्रेष्ठले पनि सभापतिका लागि इच्छा देखाउँदै भेटघाटलाई तीव्रता मात्रै दिएका छैनन् सचिवालयसमेत राखेर मैदानमा उत्रिएका छन् । कार्की क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् । यस्तै श्रेष्ठ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हुन् । कार्की र श्रेष्ठ दुवै जना सभापति शेरबहादुर देउवा निकट हुन् ।

कार्की १२औं र १३औं महाधिवेशनमा देउवा समूहबाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । यस्तै उनी नेपाली कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकको क्षेत्रीय सचिवसमेत थिए ।

श्रेष्ठ भने १३औं महाधिवेशनमा नेता सिंह र देउवा दुवै समूहको साझा उम्मेदवार थिए । अहिले उनी देउवाका पक्षका सशक्त उम्मेदवार मानिन्छन् । उनी चार वर्षअघि स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको मेयरमा उम्मेदवारसमेत बनेका थिए । कोभिड-१९को महामारीको समयमा उनले मैदानमा खटेर सेवा गरेका थिए। सामाजिक कार्यमा अग्रसर श्रेष्ठ एक जुझारु व्यक्तिका रूपमा चिनिन्छन्।

यसैगरी गौरीप्रसाद दवाडी, हरिहर अधिकारी र दामोदर खड्काले पनि यस पटक जिल्लाको नेतृत्व हाँक्ने भन्दै निकटका नेताहरूमार्फत लबिङ बढाएका छन् । दवाडी भीमसेनदास प्रधान काठमाडौं कांग्रेसको सभापति हुँदा उपसभापति थिए । उनले काठमाडौं कांग्रेसमा सदस्यदेखि उपसभापतिसम्म हुँदा बीस वर्ष बिताएका छन् । दवाडी बौद्धिक र शालीन नेताका रूपमा चिनिन्छन् ।

यस्तै अधिकारीसमेत नेता प्रधान निकट हुन् । उनी स्थानीय तहको गत निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । केन्द्रमा भने उनीहरू पूर्व महामन्त्री कृष्ण सिटौलासँग नजिक छन् । यसैगरी खड्काको पनि यस पटक काठमाडौंको नेतृत्व हाँक्ने इच्छा राख्दै आइरहेका छन् । उनी पनि सभापति देउवा निकट हुन् । खड्का तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकमा काठमाडौं जिल्ला सचिव थिए ।

यी मध्ये काठमाडौंमा संस्थापन पक्ष मानिएको देउवा समूहबाट एक जना उम्मेदवार अन्तिम समयमा मैदानमा आउन सक्छन् । यस्तै इतर समूहबाट हालका सभापति बानियाँ नै मैदानमा रहन सक्छन् भने प्रधानको समूहबाटसमेत एक जना मैदानमा उत्रने सम्भावना रहन्छ । 
तर, अन्तिममा कुनै दुई पक्ष समेत सहकार्य गरेर मैदानमा भिड्ने सम्भावनासमेत काठमाडौं कांग्रेसमा उत्तिकै छ । 

पुनः एक कार्यकाल हाँक्ने इच्छा छ : बानियाँ 

हालका काठमाडौं सभापति सबुजकृष्ण बानियाँ आफू पुनः एक कार्यकाल काठमाडौंको नेतृत्व हाँक्ने गरी अघि बढेको बताए । त्यसका लागि जिल्लाका सबै नेतृत्व तहका नेताहरुबीच छलफल र संवाद गरिरहेको भन्दै उनले सबैको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । 
‘सबैसँग छलफल र संवाद गरिरहेको छु, धेरै नेताकार्यकर्ताहरुको राय एक पटक फेरी अघि बढ्नुस् भन्ने छ, म सहमति र सहकार्यको वातावरण बनाएरै अघि बढ्छु,’ बानियाँले हाम्राकुरासँग भने । उनी १३औं महाधिवेशनमा काठमाडौं सभापतिमा निर्वाचित भएका थिए । कांग्रेस विधानले एक व्यक्तिलाई दुई कार्यकाल सभापति बन्न बाटो खुला गरेको छ । 

कांग्रेसलाई सेवामुखी बनाउनु छः श्रेष्ठ

राजु श्रेष्ठ पनि यस पटक कांग्रेस काठमाडौंका लागि सशक्त उम्मेदवार हुन् । हाल क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रहेका उनी सभापति शेरबहादुर देउवा समूहबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् । श्रेष्ठले आफू आगामी नेतृत्वका लागि सहमतिमा नै उम्मेदवार बन्ने प्रयासमा रहेको बताए ।

‘भोलीबाट हामी महाधिवेशनको महासङ्ग्राममा होमिँदै छौं, म काठमाडौंको नेतृत्वका लागि सहमतिको प्रयासमा छु, पार्टी भित्र सबै तहका नेता कार्यकर्तामा मूल्याङ्कनको परिपाटी बसाल्ने र अनुशासनको पद्धति विकास गर्ने मेरो ध्येय हो, छलफल जारी छ,’ श्रेष्ठले भने । 
उनले कांग्रेसमा युवा तहका क्रियाशील सदस्य बढेको भन्दै आगामी निर्वाचनमा समेत युवा पङ्क्तिलाई कांग्रेसमा आकर्षित गर्ने लक्ष्य आफूले राखेको बताए । त्यसका लागि युवालाई सामाजिक कार्यमा जोड्नका लागि सेवामुखी कांग्रेस बनाउँदै पार्टीलाई सामाजिक काममा उभ्याउन आफू अग्रसर भएको बताए ।

साझा उम्मेदवार छान्छौंः कार्की
काठमाडौंको सभापतिका आकाङ्क्षी मध्येका अर्का नेता उपेन्द्र कार्कीले आगामी नेतृत्व साझा रूपमा चयन गरिने र त्यो प्रयास जारी रहेको बताए । ‘साझा उम्मेदवार छान्ने विषयमा प्रयास भइरहेको छ, सहमति गरेरै नेतृत्व चुन्ने गरी हामी अघि बढ्छौँ, साथीहरूले मलाई हौसला दिनु भएको छ,’ कार्कीले भने ।

छलफलमा नै छौं: दवाडी 

सभापतिका आकाङ्क्षी मध्येका नेता दवाडीले नेतृत्वका लागि अघि बढ्ने विषयमा जिल्ला भित्रका स्थानीय नेता कार्यकर्तासँग परामर्श गरिरहेको बताए । उनले स्थानीय नेता कार्यकर्ताको भावना अनुसार आफू अघि बढ्ने र त्यो अनुभव बीस वर्ष काठमाडौं कांग्रेसमा रहँदा आफूले बटुलेको सुनाए । ‘म स्थानीय नेता कार्यकर्ताहरूसँग परामर्शमा छु, उहाँहरूको राय अनुसार अघि बढ्छु, विगत बीस वर्षको दौरानमा काठमाडौं कांग्रेसमा रहँदा सबैको साथ पाएँ, अब पनि अपेक्षा छ,’ दवाडीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ