arrow

प्रा.डा. गोविन्द केसीको अवस्था गम्भीर, शिक्षण अस्पताल प्रशासन गैरजिम्मेवार

logo
बाबु नेपाली,
प्रकाशित २०७३ असार ३१ शुक्रबार
kc.JPG.jpeg
काठमाडौं । सामान्यतया कुनै नागरिक बिरामी पर्दा अस्पतालको दायित्व हुन्छ उसलाई बचाउने, उपचार गर्ने । तर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रशासन भने यतिबेला गैरजिम्मेवार बन्दै गएको छ । शिक्षण अस्पतालमै आमरण अनसनरत हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. गोविन्द केसीको अवस्था गम्भीर हुँदै गए पनि उनको उपचारका लागि प्रशासनले कुनै चासो देखाएको छैन । 
 
डा. केसी गत आइतबारदेखि आमरण अनसनमा छन् । आठौं पटक आमरण अनसनमा बसेका डा. केसकिो अवस्था निकै गम्भीर बन्दै जाँदा कसैले चासो नदिएको भन्दै शिक्षण अस्पतालको नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी र नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीले आपत्ति जनाएको छ ।
 
दुवै संघले समर्थन गरेको डा. केसीको आन्दोलनलाई दबाउन शिक्षण अस्पताल प्रशासनले भने सघाउने जोसुकैलाई कार्वाही गर्ने चेतावनी दिएको छ । एनआरडीका अध्यक्ष डा. लिजन महर्जनले ‘हामीले दोस्रो दिनदेखि नै डा. केसीको उपचारका लागि अनुरोध गरे पनि सहयोग पाएनौं’ भने । 
 
अस्पताललेमात्र होइन यसअघि कुर्लिने नेपाल चिकित्सक संघले पनि खासै वास्ता देखाएको छैन । संघले अहिलेसम्म औपचारिक रुपले कुनै पनि प्रक्रिया अगाडि सारेको छैन । डा. महर्जन भने विभिन्न चिकित्सकहरुका संघले डा. केसीको आन्दोलनलाई समर्थन गरेको जनाएका छन् । विज्ञप्तिसमेत निकालेर शिक्षण अस्पतालको हर्कतको विरोधसमेत गर्ने काम भइरहेका छन् । 
 
चिकित्सा क्षेत्रका विकृति अन्त्य र अनावश्यक हस्तक्षेप गरी विभेदकारी काम गर्ने अख्तियार दूरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने डा. केसीको माग छ । 
 
डा. केसीका मागलाई समर्थन गर्नेहरु पनि खुलेर यसपटक लाग्न सकेका छैनन् । उनीहरुलाई ठाडो आदेश दिइएको छ कि कोही त्यसरी समर्थनमा लाग्यो भने कार्वाही गर्ने । 
 
त्यसकै नतिजा अहिलेसम्म सरकारी प्रतिनिधि कोही पनि डा. केसीलाई भेट्न पुगेका छैनन् । त्यसैगरी अख्तियारको त्रासले अस्पताल परिसरकै अन्य कर्मचारीसमेत पुगेका छैनन् । 
 
केही मानवअधिकारकर्मीमात्र डा. केसीलाई भेट्न पुगेको एमबीबीएसका विद्यार्थी नारायण कणेलले बताएका छन् । 
 
डा. केसी यसअघिको भन्दा निकै गम्भीर भएका छन् । छैटौं दिनसम्म आइपुग्दा विगतका तुलनामा उनी गम्भीर बनेका हुन् । कणेलका अनुसार डा. केसीले शरीर दुख्यो, छाती दुख्यो, खुट्टा बाउँडियो भनेर आत्तिने गरेका छन् । 
 
के के समस्या थपियो त ? 
-शरीर पूरै कमजोर बनेको छ । 
-मुटुको चाल अनियमित बनेको छ । 
-स्वासप्रश्वासमा समस्या बढेको छ ।
-रगतमा सुगरकोमात्रा घटेको छ । 
-ग्लुकोज लेभल घटेको छ ।
-पिसाबको किटोन बढेको छ । 
-रगतमा क्रिएटोनिन बढेको छ ।
सातौं पटकको आमरण अनसनजस्तै अहिले न त मानवअधिकारकर्मी डा. केसीलाई भेट्न पुगेका छन् न त दलका नेताहरु नै । त्रास अख्तियार प्रमुखको हो वा ऐक्यवद्धतामा कमी हो त्यो भने केही दिनमै छिनोफानो हुनेछ । तर डा. केसीका मागमा कुनै नरहेको बताउनेहरु नै उनको समर्थनमा नउत्रिनेहरुप्रति भने शंकाको दृष्टिले हेर्नुपर्नेमा दुईमत छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ