arrow

कांग्रेसमा अपाङ्गता भएका व्यक्तिलाई नयाँ व्यवस्था, परम्परालाई तोड्दै केन्द्रीय महाधिवेशनमा बन्ने भए निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
Congress-convention-14-nepa.jpg

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा होमिएको छ । पार्टीको तल्लो इकाइ मानिने वडा तहको अधिवेशनहरु धमाधम भइरहेका छन् । कुनै समय संघीयता विरोधी भनेर आरोप खेपेको कांग्रेसले राज्य पुनःसंरचना अनुसार मजबुद विधान बनाएर यस पटक महाधिवेशनमार्फत पुरानो आरोप चिर्दैछ ।

काग्रेसको विधान अनुसार आठ तह मध्ये सबैभन्दा तल्लो तहदेखि नै समावेशी सिद्धान्त अनुसार कार्य समिति र प्रतिनिधि चयन भइरहेका छन् । क्रियाशील सदस्यता संख्याका आधारमा नेतृत्व र प्रतिनिधि चयन हुने भएकाले यस पटक नेपाली कांग्रेसले समानुपातिक र समावेशी सिद्धान्तको कार्यान्वयन गर्दैछ । विभिन्न क्षेत्र, बर्ग, लिङ्गलाई आधार मानेर नयाँ विधान तयार पारेकाले कांग्रेसलाई समावेशी बनाउनुपर्ने बाध्यता छ ।

वडा तहमा कूल १ सय ५० क्रियाशील सदस्य रहेको वडा तहमा प्रत्यक्षतर्फबाट तीन महिलासहित ९ जना, समानुपातिक समावेशीतर्फबाट ६ जना र १ जना वडा सभापतिसहित १६ जना क्षेत्रीय प्रतिनिधि एक वडाबाट चयन हुने व्यवस्था छ । यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएमा प्रत्येक एक सय क्रियाशील सदस्य बराबर ७५ को सीमा भित्र रही समावेशी आधारमा थप १० प्रतिनिधि क्रमशः चयन हुने विधानमा व्यवस्था छ ।

यही प्रक्रियालाई आधारमा मानेर अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिलाई पनि विभिन्न तहमा अनिवार्य सहभागिता गर्न विधानले भनेको छ । अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका लागि विधानले स्पष्ट व्यवस्था गरेको छ। जसमध्ये गाउँ, नगर अधिवेशनले अपाङ्गता भएका क्रियाशील सदस्यमध्येबाट १ महिला सहित २ जना प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचन गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकोको वडा कार्यसमितिमा सभापतिले कार्य समितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था सँगै समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्नुपर्ने व्यवस्था छ । वडा अधिवेशनमा क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय प्रतिनिधिका रुपमा पनि अपाङ्गता भएका व्यक्तिलाई छनोट गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश सभा र प्रतिनिधि सभामा सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी प्रतिनिधित्व र अपाङ्गता वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्नुपर्ने व्यवस्था छ । जिल्ला कार्यसमितिको हकमा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुमध्ये एकजना प्रत्यक्ष निर्वाचित गर्नुपर्ने विधानमा भनिएको छ । त्यस्तै प्रदेश सभा निर्वाचनमा पनि एक जना अल्पसंख्यक वा अपाङ्गता व्यक्ति समितिको सदस्यमा अनिवार्य भनिएको छ । महाधिवेशन प्रतिनिधिका सवालमा प्रत्येक जिल्लाबाट एक जना अपाङ्गता वा अल्पसंख्यक व्यक्ति अनिवार्य चयन गर्नुपर्ने विधानमा भनिएको छ ।

अपाङ्गता कोटाबाटै राष्ट्रिय सभा सदस्य भएका कांग्रेस नेता प्रकाश पन्त भन्छन्,‘यस पटकको विधानमा ७७ वटै जिल्लाबाट ७७ जना महाधिवेशन प्रतिनिधि अनिवार्य चयन हुनेछन् । त्यसबाहेक अपाङ्ग र अल्पसंख्यक गरी १ सय ५० को हाराहारमीमा महाधिवेशन प्रतिनिधि चयन भएर आउने भएकाले यी प्रतिनिधि निर्णायक मान्न सकिन्छ ।’ १५औं महाधिवेशनमा अपाङ्गता र अल्पसंख्यक छुट्टाछुट्टै बनाउन पहल गरिने पनि उनले बताए । पन्तले हाम्राकुरासँग भने,‘विगतको विधानमा अहिलेको जस्तो समावेशी चरित्र थिएन । अवसरबाट नै बन्चित गरिएको थियो । तर नयाँ विधानले अपाङ्गता भएका कांग्रेस कार्यकर्ताहरुलाई थोरै साहस र राहत दिएको छ । यसलाई १५औं महाविधेशनमा केही शंसोधन गरेर थप समावेशी बनाउने प्रयास गरिनुपर्छ ।’

कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य भइसकेका माधव चम्लागाइ बर्षौदेखि विभेद सहँदै आएका अपाङ्गहरुलाई कांग्रेसले नेतृत्व विकासमा दिएको अवसरलाई सम्मान गर्नुपर्ने बताउँछन् । यस पटक इलामबाट क्षेत्रीय प्रतिनिधि चयन भइसकेका चम्लागाइ कांग्रेस केन्द्रीय समितिमा अपाङ्गहरुले पाउने अवसरले राज्यको उपल्लो नेतृत्व तहमा पुग्न सहज भएको बताउँछन् । उनी भन्छन्,‘वडा, नगर, क्षेत्र हुँदै जिल्लादेखि नै अपाङ्गता भएका व्यक्तिहरुलाई विधानत अवसर प्रदान गरिनुले हौसला मिलेको छ । अब सक्षम र योगदानका आधारमा केन्द्रीय समितिमा अवसर दिलाउनुपर्छ ।’

केन्द्रीय कार्यसमितिमा भने कांग्रेसले भिन्न व्यवस्था गरेको छ । कम्तिमा १० बर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका अल्पसंख्यक महाधिवेशन प्रतिनिधिमध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना गरी दुई जना सदस्य निर्वाचित गर्नुपर्ने ब्यवस्था छ । त्यसका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाटै केन्द्रीय सभापतिले कार्यसमितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था अनुसार समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । जसका कारण अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिहरु पनि केन्द्रीय सदस्यका रुपमा मनोनित हुनसक्ने छन् ।

कांग्रेसको लोकतान्त्रिक अपाङ्ग संघ देशभर क्रियाशील छ । हाल राष्ट्रिय सभामा पहिलो पटक प्रकाश पन्तले प्रतिनिधित्व गरेका छन् भने माधव चम्लागाइ कांग्रेसको विभिन्न फोरममा क्रियाशील छन् । त्यस्तै भोजराज श्रेष्ठ भातृ संगठन मार्फत कांग्रेसलगायत विभिन्न सामाजिक आन्दोलनमा क्रियाशील छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ