- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सहितको टोली बिहीबार काठमाडौं आइसकेको छ ।
सो टोलीले एमसीसी परियोजनाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग भेट्दै छ ।
फातिमा सुमारसहितको टोलीले अहिले केही बेरमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्दै छ । सो टोली ओलीलाई भेट्न महाराजगंजस्थित अमेरिकी दुतावासबाट बालकोट नै जान लागेको हो । ओलीसँगको एमसीसी टोलीको पहिलो भेटघाट हुनेछ । यस्तै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट हुनेछ ।
ओलीसँगको भेटपछि टोली एमसीसीको कार्यालय दरबारमार्ग पुग्ने छ । त्यसपछि होटल मेरियटमा भेटघाट गर्ने कार्यतालिका छ । सो टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग पनि भेटघाट गर्नेछ ।
प्रधानमन्त्री देउवासँग शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता हुने बताइएको छ । प्रचण्डसँग भने आजै भेटघाट हुन सक्ने बताइएको छ । तर समय तय भएको छैन । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भेटघाटका लागि समय तय नभएको जानकारी दिए ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक(आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसीसीबीच द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । सो टोली काठमाडौं आएदेखि नै काठमाडौंका मुख्य सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
एमसीसीको विरोधमा गतिविधि हुन सक्ने सम्भावित स्थानमा बिहानैबाट आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । यस्तै सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
बिहीबार विहानै विमानस्थलमा सो टोली विमानस्थलबाट बाहिरिंदै गर्दा विरोध गर्न पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सरकारले संसदबाट एमसीसी पास गर्ने तयारी गरेपछि सत्तारुढ गठवन्धन आबद्ध दलहरुबाटै त्यसको विरोध भइरहेको छ । सम्भावित घटनालाई राक्न गृहमन्त्रालयले मातहतका निकायलाई हाइअर्लटमा समेत राखेको छ ।
सम्झौताअनुसार सडक संजाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।