टर्की ।टर्कीमा सैनिक 'कू'मा संलग्न १ सय ६१ जना मारिएका छन् । बिबिसिका अनुसार 'कू' मा संलग्न १ सय ६१ सैनिक मारिएका छन् भने २८ सय भन्दा ज्यादा पक्राउ परेका हुन् ।
शुक्रबार बेलुका सेनाले कु गरेपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् ।
करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको हो । सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ ।
शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाएका छन् । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् ।
घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन । यी दुई सहरमा ती सैनिकले विद्रोह गरेका थिए । विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए । टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन ।
राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको छ । टर्कीको सरकारी समाचार समिति, अन्दालउले यो समाचार दिएको छ । उक्त समाचारका अनुसार शनिबार बिहान अबेर तिर सयौँ सैनिकलाई नियन्त्रणमा लिएको छ भने सयौँले आत्मसमर्पण गरेका जनाइएको छ । एएफपी