arrow

ईश्वरमाथि केपीको ‘सफ्ट कू’, विष्णु छायाँ महासचिव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
Ishor-pokhrel.jpeg.jpeg

काठमाडौं । नेकपा एमालेको विधानअनुसार अध्यक्ष विचारको र महासचिव संगठनको नेता हुन्छ । अध्यक्षपछिको कार्यकारी पद नै महासचिव हो । तर अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेललाई कागजी महासचिवमात्र बनाएर अगाडि बढिरहेको चर्चा अहिले ब्यापक छ । ओलीले पोखरेललाई कागजी महासचिव बनाएर विष्णु पौडेललाई छायाँ महासचिव बनाएका छन् ।  महासचिवको भूमिकामा पौडेलकै सक्रियता देखिदै आएको  छ । 

आगामी असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदा समितिको संयोजकसमेत पौडेल नै रहेका छन् । संशोधन मस्यौदा समिति सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । यो समितिको संयोजक पौडेललाई बनाएर महासचिव पोखरेललाई विस्तारै पार्टी संगठन र कार्यकर्ताबाट ‘रिङ आउट’ पारिएको आशंका छ । जबकि विधान मस्यौदा समितिमा महासचिवको भूमिका अनिवार्य जस्तै हुन्छ ।
 
महासचिव ईश्वर पोखरेल बाहिर हेर्दा मात्रै महासचिवको रुपमा रहेका छन् । तर पार्टीभित्र भने उनको भूमिका निकै खुम्चिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको  फैसलाले माओवादीसँगको एकता भंग भई पूर्ववत् अवस्थामा फर्केको एमालेमा कागजीरुपमा महासचिव ईश्वर पोखरेल देखिन्छन् । तर भूमिकाले उनी महासचिव भएको कहीँ देखिदैन । भूमिका हेर्दा उपमहासचिव रहेका बिष्णु पौडेल नै महासचिव रहेको देखिन्छ । 

०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन हुँदा तत्कालीन एमालेमा उपमहासचिव रहेका पौडेल बढुवा भएर महासचिव भएका थिए । अहिले उनी त्यही भूमिकामा रहेका छन् । दुई पार्टीको एकता हुँदा एमालेको भागमा पहिलो अध्यक्ष र महासचिव परेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली नै नेकपाको अध्यक्ष हुँदा पाएको महासचिवमा पनि आफै हुनुपर्ने ईश्वर पोखरेलको दाबी थियो । तर पोखरेलले थाहा नपाई पौडेलको बढुवा भयो ।
 
एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष ओलीजस्तै पोखरेल पनि निर्वाचित महासचिव भए पनि ओलीले उनलाई पत्याएनन् र पौडेलको बढुवा भयो ।  एमालेका महासचिवमा रहेका पोखरेल भने घटुवा भएर सचिवालय सदस्य मात्र भए । पोखरेलले यसमा असन्तुष्टि जनाएपछि ओलीले माधव नेपाल र प्रचण्डले महासचिवमा विष्णु पौडेल नै हुनुपर्ने अडान लिएपछि यो अवस्था आएको भनेर फकाई फुल्याई गरेका थिए । ईश्वरले ओलीको त्यस भनाइलाई पत्याए पनि । नपत्याउँदा पनि पोखरेलका लागि अर्को विकल्प थिएन । 

किनभने ओलीको नै उक्साहटमा पर्दा माधव नेपालसँगको पोखरेलको सम्बन्ध एकदम तिक्ततापूर्ण थियो भने प्रचण्डसँगको ओलीको एकता पौडेलकै भूमिकाको कारण सम्भव भएको थियो । ‘माओवादी पार्टी एकता गराउने र ओलीलाई शक्तिशाली प्रधानमन्त्री बनाउने भूमिकामा पौडेल सक्रिय भएका थिए । पछि पार्टीभित्र विग्रह आउँदा होस् वा एमालेभित्रको आन्तरिक विवाद निरुपणमा होस् पोखरेल भन्दा पौडेलको भूमिका प्रभावकारी र सक्रिय देखिएपछि ओलीले पोखरेललाई आफ्नो क्याम्पबाट रिङ आउट गर्दै लगेको हुन्’, ओली निकट एक नेताले भने ।
 
आफूलाई एकीकृत विशाल पार्टीको महासचिवजस्तो ऐतिहासिक र गरिमामय पदमा आउन नदिन भूमिका खेलेको भनेर ओलीको मुखबाट सुनेपछि पोखरेल वरिष्ठ नेता नेपाल र दोस्रो अध्यक्ष प्रचण्डसँग थप टाढिए मात्र होइन प्रचण्ड र नेपालका विरुद्ध अभिव्यक्ति दिँदै हिँडे । तर पौडेलले भने अन्तिमसम्म समन्वय गरिरहे । ओलीको पोखरेललाई प्रयोग गरेर भित्र–भित्रै उनीहरुसँग बदला लिने योजना सफल भए पनि पोखरेलले भने ओलीलाई आफ्नो वशमा राख्न सकेनन् । अहिले पनि पोखरेलका मुखबाट धेरै गाली गराउन खोजिरहेका ओलीले पौडेललाई काखी च्यापिरहे ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पनि ओलीले पोखरेललाई जिम्मा दिएनन् । १० बुँदे सहमति गर्न पौडेलसँग सुवास नेम्वाङलाई पठाए । तर महासचिव पोखरेलले त्यो भूमिकामा जानुपर्ने हुन्थ्यो । संगठन विभाग प्रमुख र महासचिव भएका कारण पोखरेलकै दायित्व बढी हुनुपथ्र्यो । जबकि अहिले पनि बैठक बोलाउने जिम्मासमेत हालका उपमहासचिव रहेका पौडेलको निर्देशनमा कार्यालय सचिव शेरबहादुर तामाङले बोलाउने गरेका छन् । 

माइन्यूट प्रदीप ज्ञवालीले गर्ने गरेका छन् । स्थायी कमिटीको बैठकमा पौडेलले एजेण्डा प्रस्तुत गर्ने गरेका छन् । शनिबारको स्थायी कमिटी बैठकमा महासचिव पोखरेलले काम नपाएर बैठकस्थलबाट बीचमै उठेर दोलखाको एक सामान्य कार्यक्रममा भाग लिन पुगेका थिए । दोलखा सम्पर्क मञ्चले गरेको एक कोठे कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

अहिले महासचितवलाई सांगठनिक प्रतिवेदन लेखनको संयोजक मात्रै बनाइएको छ । तर सो प्रतिवेदन लेखनमा पनि पौडेल र शंकर पोखरेल हावी रहेका छन् । महासचिव पोखरेल संयोजक रहेको सो समितिमा पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, किरण गुरुङ, पद्मा अर्याल सदस्य रहेका छन् । 

तीन वर्षपछि सर्वोच्च अदालतको फैसलाले एकता भंग गर्दै दुवै पार्टीलाई ०७५ जेठ २ को अवस्थामा पुर्याएपछि भने ईश्वर पोखरेलले खुशी र शान्तिको श्वास फेरेका भए पनि अहिले पार्टीभित्रै पार्टी अध्यक्ष ओली र अन्य नेताहरुको ‘सफ्ट कू’ मा परेका छन् ।

पार्टी जेठ २ मा फर्कँदा आफू स्वतः महासचिव बन्छु भन्ने विश्वास भए पनि चरम अन्तरविरोधले फुटको संघारमा पुगेका बेला अध्यक्ष ओलीले जेठ २ को केन्द्रीय नेत्तृत्वलाई स्वीकारे र पोखरेललाई महासचिवको हैसियत प्रदान गर्दै बैठक आह्वान गर्न भने पनि उनी कागजी महासचिव मात्रै भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ