arrow

टर्कीमा प्रजातन्त्रको नयाँ लहर, हजारौं टर्किस जनता सडकमा

logo
प्रकाशित २०७३ साउन २ आइतबार
turkeyyyyyyyy.jpg.jpeg
काठमाडौं। टर्कीमा सेनाको एक समूहले गरेको सैन्य ‘कू’ को असफल प्रयासपछि प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर ‘कू’ मा संलग्न सबैलाई फाँसी दिनसमेत माग गरेका छन्। 
 
सेनाको एक समूहले गरेको ‘कू’ को प्रयास २४ घण्टाभित्र सरकारले असफल बनाएको थियो। शुक्रबार राति सो घटना भएपछि २४ घण्टाभित्र पूरै स्थिति सरकारले नियन्त्रणमा लिएको थियो। संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षे  धर्म गुरु फतहुल्लाह गुलेन ‘कू’ गराउन संलग्न रहेको भन्दै उनलाई कारवाही गरिनुपर्ने बताए।
 
अमेरिकाले धर्मगुरु गुलेनविरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ। यसैबीच कू को प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनिक जर्नेल पनि छन्। यसैगरी टर्किस सरकारले दुई हजार सात सय ४५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ।
 
शुक्रबार राति सेनाको एक समूहले गरेको कू को प्रयासपछि भएको झडपमा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जनाको मारिएका छन्। जसमा कू मा संलग्न एक सय चार जना सैनिक पनि समावेश छन्। घटनामा १४ सय ४० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उधृत गर्दै बीबीसी र डेली मेलले जनाएका छन्। टर्कीमा यसअघि चार पटक सैन्य कू भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ