arrow

आज कमैया मुक्ति दिवस, १७ वर्ष कमैयाको अवस्था उस्तै

logo
प्रकाशित २०७३ साउन २ आइतबार
mukta-kamaiya.jpg.jpeg
काठमाडौँ । मुक्त कमैयाले आज उपत्यकासहित थारू बहुल सबै जिल्लामा मुक्ति दिवस मनाउँदै छन् ।  तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष कमैयाले मुक्ति दिवस मनाउँछन् । तर अहिलेसम्म मुक्त भने हुन सकेका छैनन् । 
सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरे पनि पश्चिम नेपालका दुई जिल्ला कैलाली र बर्दियामा अझै मुक्त कमैयाको पुनःस्थापना सम्पन्न भएको छैन ।  
अन्य जिल्ला कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैयाको पुनःस्थापनाको काम सकिएको सरकारले बताएको छ ।  दुई जिल्लामा पनि यही आर्थिक वर्षभित्र पुनःस्थापनाको काम सक्ने तयारी सरकारको छ ।  
 
मुक्त कमैया क्षेत्रमा काम गर्ने कमैया महिला जागरण समाजका अनुसार कैलालीमा चार सय घरधुरीलाई पुनःस्थापना गर्न बाँकी छ ।  त्यस्तै, १२ सय घरपरिवारको सट्टाभर्ना गर्नुपर्नेछ ।  
 
नदीको बगरमा, बलौटे जग्गामा मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा नदीले कटान गरेपछि ती कमैयालाई पुनः अर्को जग्गाको व्यवस्था गर्नुलाई सट्टाभर्नाको काम भनेर सरकारले परिभाषित गरेको छ ।  
 
अन्य जिल्लामा सो काम सम्पन्न भए पनि कैलाली र बर्दियामा बाँकी छ ।  त्यस्तै, बर्दियामा तीन सय घरपरिवारको पुनःस्थापना र नौ सय घरपरिवारलाई सट्टाभर्ना गर्न बाँकी रहेको छ।  
 
सरकारी कर्मचारीको ढिलासुस्तीका कारण १७ वर्ष पुग्दासमेत कमैयाको पुनःस्थापना नहुनु दुःखद् भएको थारूहरुको गुनासो छ ।  थारुहरुले यत्तिका वर्षसम्म घाम, शीत, वर्षाको पीडाले मुक्त कमैयाहरू बाँच्दैआएको बताउँदै सरकारलाई कमैयाको समस्याप्रति गम्भीर हुन आग्रहसमेत गरेका छन् । 
 
सरकारले यसअघि प्रतिबद्धता गरेको एक लाख रुपियाँ, ३५ क्विफिट काठसमेत आफूहरूले नपाएको कमैयाको गुनासो छ ।  मुक्त कमैया परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने नीतिमा सरकारको भए पनि त्यो व्यवहारमा कार्यान्वयन नभएको मुक्त कमैयाले गुनासो गरेका छन् । 
 
 केही मुक्त कमैयालाई बढीमा पन्ध्र दिनको सीपमूलक तालिम प्रदान गरिएको भए पनि अधुरो तालिमले काम पाउन नसकेको उनीहरूको गुनासो छ ।  
 
मुक्त कमैयाका प्रतिनिधिहरू मुक्ति दिवस मनाउनका लागि काठमाडौँ आइपुगेका छन् ।  तर औपचारिक कार्यक्रममा केही थारुका गुनासो सुनिन्छ अनि चियापानसंगै विदाइ गरिन्छ । यसबारे अधिकारकर्मीहरु पनि तैं चुप मैं चुप छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ