चीनबाट ४४ लाख मात्रा खोप भोलि आउने, नेपाल एयरलाइन्स जाँदै
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
999
Shares
काठमाडौं। चीनबाट खरिद गरिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन बिहीबार राति ११ बजे नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । ४४ लाख डोज (मात्रा) खोप बोकेर भोलि दिउँसो २ बजे विमान नेपाल आइपुग्ने छ ।
आज राति ११ बजे विमान जाँदै छ र भोलि दिउँसो २ बजे आइपुग्छ, ४४ लाख डोज खोप ल्याउँदै छ नेपाल एयरलाइन्सको महाप्रबन्धक डिमप्रकाश पौडेलले हाम्रा कुरासँग भने ।
सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद गरेको थियो । ६० लाख डोज खोपमध्ये भदौ ४ र ५ गते गरेर १६ लाख डोज खोप आइसकेको छ ।
बाँकी ४४ लाख डोज खोप लिन बिहीबार राति विमान त्रिभुवन विमानस्थलबाट चीनतर्फ जाने भएको हो । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान स्वरूप दिने भनेको छ । यद्यपि, खरिद सम्झौता अन्तर्गतका खोप भित्र्याएपछि मात्रै अनुदान स्वरूपको खोप दिने निर्णय चीनले गरेको थियो ।
सरकारले चैतसम्म लगभग सबै नागरिकका लागि करिब साढे ५ करोड डोज खोप उपलब्ध गराइ सक्ने लक्ष्य राखेको छ । जसमध्ये झन्डै डेढ करोड खोप भित्रिसकेको छ भने १ करोड भन्दा बढी डोज प्रयोगमा आइसकेको छ ।