arrow

तालिबान शासनमा पत्रकारमाथि हिंसाका घटना बढे : आरएसएफ

logo
एजेन्जी,
प्रकाशित २०७८ असोज १ शुक्रबार
afgan-pak-india-china.jpg
फाइल तस्बिर

काबुल। तालिबान शासन सुरु भएपछि अफगानिस्तानमा पत्रकारमाथिको हिंसा बढेको छ। तालिबानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि दजर्नौ पत्रकारहरूमाथि धरपकड र दुर्व्यवहार भएको रिपोर्टस विथआउट बोर्डरले जनाएको छ।

तालिबानले कम्तीमा पनि २४ जना पत्रकारहरूलाई नियन्त्रणमा लिएको आरएसएफले जनाएको छ। अफगानिस्तानको इटिलाट्रोज पत्रिकाका पाँच जनालाई पनि तालिबानले नियन्त्रणमा लिएको छ। अन्य दुई जना पनि अफगानिस्तानमा भइरहेको विरोध प्रदर्शनको रिपोर्टिङका क्रममा पक्राउ परेका छन्।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि करिब १५३ मिडियामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै तालिबानले सत्ता कब्जा गरेको घोषणा गरेको थियो।

उक्त पत्रकार सम्मेलनका क्रममा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका थिए,"मिडियाहरू निष्पक्ष हुनुपर्छ। मिडियाका लागि निष्पक्षता निकै महत्त्वपूर्ण छ। उनीहरूले हाम्रा गलत कामको आलोचना गर्न सक्छन्, जसका कारण हामी सुध्रिन सक्छौँ।" तालिबानले सत्ता सम्हालेपछि पनि पटक पटक दोहोर्‍याउने अभिव्यक्ति हो, 'अफगानिस्तानमा प्रेस स्वतप्तता तर, वास्तविकता भने फरक छ।'

एक स्थानीय निगरानी समूहले गरेको अध्ययन अनुसार अगस्टको मध्यदेखि यता एक महिनाको अवधिमा अफगानिस्तानका विभिन्न २० प्रान्तबाट सञ्चालनमा रहेका करिब १५३ वटा मिडियाहरूलाई बन्द गराइएको छ।

त्यसैसरि तालिबानले पत्रकारमाथि पनि दुर्व्यवहार गर्ने, यातना दिने, कुटपिट गर्ने गरेका छन्। पत्रकारहरूका उपकरण जफत गर्ने, पत्रकारलाई पक्राउ गर्ने र भौतिक आक्रमण गर्ने काम भइरहेका छन्, त्यो पनि राजधानी काबुलमा नै।

पत्रकारमाथि भइरहेको आक्रमणले अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको समेत ध्यानाकर्षण भएको छ। गत साता काबुलमा भइरहेको विरोध प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पत्रकारलाई पक्राउ गरी कुटपिट गरिएको थियो। उक्त घटनाको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार उच्चायुक्तले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि बल प्रयोग गर्ने काम तत्काल बन्द गर्न र शान्तिपूर्वक विरोध सभा गर्न तथा पत्रकारहरूलाई उक्त प्रदर्शनहरूको रिपोर्टिङमा कुनै बाधा नपुर्‍याउन तालिबानलाई आग्रह गरेको थियो।  ह्युमन राइट वाचले पनि पत्रकारहरूमाथि गरेको आक्रमणको निन्दा गरेको छ।

त्रासमा महिला पत्रकार 
अफगानिस्तानमा रहेका महिला पत्रकारहरू थप त्रासमा रहेका छन्। पछिल्लो तीन सातामा तालिबानले महिला पत्रकारहरूलाई घरबाहिर ननिस्किनका लागि धम्कीसहितको म्यासेज पठाउने गरेको छ। अगस्त १५ मा काबुल विश्वविद्यालयबारे रिपोर्टिङ गरेकी भ्वाइस अफ अमेरिकाकी पत्रकार मरजाना सादतले भनिन्, 'तालिबानहरूले मलाई घरभित्रै बस्‍नका लागि म्यासेजहरू पठाउने गरेका छन्।'

तालिबान धम्कीका बीच पनि महिलाहरूले राजधानी काबुलमा विरोध प्रदर्शन जारी राखेका छन्। यसअघि तालिबानले एक गर्भवती महिला प्रहरीको हत्या गरेपछि उक्त त्रास झन् बढेको छ। महिला पत्रकारहरूले पटक पटक आफ्नो निर्देशनको पालना गर्नका लागि म्यासेज आउने गरेको बताइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ