काठमाडौं । नयाँ सरकार गठनमा लागेको माओवादी केन्द्रले संसदमा कडाईका साथ प्रस्तुत हुन बृहत तयारी थालेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठकमा आइतबार संसदमा दर्ता भएको अविश्वास प्रस्तावपछि विकसित राजनीतिक परिस्थिति र अब संसदमा प्रस्तुत हुने सबैखाले तयारीबारे छलफल भएको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । उनले भनिन्, ‘बैठकले यसबारे सोमबार ठोस निर्णय लिनेछ । संसदमा बलियो रुपमा प्रस्तुत हुने सन्दर्भमा पदाधिकारीहरुले सुझाव दिएका छन् ।’
शनिबार मात्रै संवैधानिक व्यवस्थाको व्याख्या र त्यसले उत्पन्न गरेको अन्योलबारे सत्ता साझेदारी गर्न लागेका माओवादी केन्द्र र कांग्रेसले कानुनविद्हरुसंग परामर्श गरेका थिए । सोही आधारमा उनीहरुले आन्तरिक तयारीलाई तीब्रता दिएका हुन् ।
बैठकमा आगामी सत्ता साझेदारी र शक्ति बाँडफाँडबारे समेत कुराकानी भएको छ । बैठक सोमबार विहान ८ बजे बस्ने गरी स्थिगित भएको छ ।
पार्टीको विभिन्न संगठनमा रिक्त पदपूर्तिबारे परामर्श
पार्टी अध्यक्ष दाहालले हेडक्वार्टर सदस्यहरुसंग केन्द्रीय कार्यालय, सचिवालय र पोलिट व्यूरोमा बाँकी रहेका सदस्यहरुको नियुक्तिबारे समेत परामर्श गरेका छन् ।
दाहालले आफु नेतृत्वमा सरकार बनाउने तयारी थालेसंगै आन्तरिक व्यवस्थापनलाई समेत प्राथमिकता दिएका छन् । उनले भोली सरकारमा आकांक्षा राख्नेहरुमा अन्तोष नआओस् भन्दै सुन्तुलन मिलाउन लागेका हुन् ।