arrow

खेलकुद परिषदको बोर्ड बैठकमा मन्त्री मण्डलको घृणित हर्कत

logo
बाबु नेपाली
प्रकाशित २०७३ साउन ३ सोमबार
2-(1).jpg.jpeg
काठमाडौंं । नेपाली खेलकुदको अहिलेको पारा हेर्दा लाग्छ कि त राष्ट्रिय खेलकुद परिषद बनेको घाम ताप्नका लागि हो कि त ओत लिनका लागि हो । अर्थात् खेलकुद परिषद कर्मचारी र पदाधिकारीका लागि जाडोमा बाहिर आएर घाम ताप्ने फराकिलो स्थल हो भने बर्खामास पानी परेका बेला ओत लिन भित्र जाने ठाउँ हो । खेलकुद परिषद गएर अहिले हेर्ने हो भने त्यो भन्दा बढी केही उपलब्धी हासिल हुन्न । 
 
प्रसङ्ग हो साउन २ गते आइतबार बल्लतल्ल बसेको खेलकुद परिषदको १०६ औं बोर्ड बैठकको । मुस्किलले जुटेका खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल एकाएक काँग्रेसको कोटामा खेलकुद परिषदको बोर्डमा नियुक्त सदस्यहरुसंग खनिए । 
 
एउटा पत्रिकामा आएको समाचारको विषयमा आफू र छोरो मुछिएको भन्दै उनी काँग्रेससंग खनिए । भएको के रहेछ भने उनले आफ्नो छोरोलाई ‘अटैची’ को रुपमा रुस लिएर गएका थिए । त्यसबारे एक साप्ताहिकले पैसा कमाएर छोराको बिहे भनेर लेखेको रहेछ । त्यो समाचार दिएको भन्दै उनी त्यसको रीस काँग्रेस पदाधिकारीलाई पो पोखे ।
 
पदीय दुरुपयोग गर्ने उनै सत्यनारायण अनि गाली पाउने काँग्रेस पदाधिकारी । राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालसहित चार जनाले बैठक नै बहिस्कार गरेर निस्किए । 
 
‘त्यसै त बैठक नै नबस्ने अनि बसे पनि व्यक्तिगत कुरा निकालेर आफ्नो गल्ती ढाक्न हामीलाई गाली गर्न खोजियो तसर्थ बैठक छाड्नु प¥यो’ हमालले भने । 
 
नीति विपरित बैठक बसेपछिमात्र एजेन्डा दिइँदा असजिलो महसुस भइरहेका बेलामा आफूहरुमात्र बोल्ने र बैठकमा पेल्न खोज्ने मन्त्री र सदस्यसचिव केसवकुमार विष्टको रवैया सहन नसकेपछि बैठक छाड्नु परेको हमालको भनाइ छ । 
 
खेलकुद परिषदका पदाधिकारी मौका मिले बेप्रसङ्गमा पनि विदेश जाने लहड बढेको छ । त्यही लहडको विरोधमा समाचार बाहिर आयो भने निकै उतारचढाव हुने गरेको छ 
 
बोर्ड बैठकले दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
 
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राखेपको १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो ।
 
  मन्त्री मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको हो । 
 
यसअघि पहिलो पटक सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोश्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।
 
त्यस्तै बैठकले १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
 
 गत फागुनमै सकिएको १२ औं सागपछि अहिलेसम्म नेपालले कुनै पहल नै गरेको छैन । यो अवधिमा राखेप सदस्यसचिव आधादर्जनबढी पटक त विदेशमात्रै सयर गरेर आइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ