काठमाण्डौं। वरिष्ठ वामपन्थी नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् ।
नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला सङ्घको केन्द्रीय पदाधिकारी र सङ्घकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।
अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनहोन अधिकारी) र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् । ‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैँ बनाऔँ, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठुलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले हामीजस्ता राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’ राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।
लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान् सुदीप आचार्य कामना सेवा विकास बैङ्कका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् । यस्तै ससुरा कृष्ण आचार्य स्थापित व्यवसायी हुन् । आचार्य ०६२-०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायक थिए । आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इपान) का अध्यक्ष छन् ।