arrow

एमाले विधान महाधिवेशन

एमालेमा ७० वर्षे बहस: फागुनपछि महाधिवेशन भए केपी ओली अध्यक्ष उठ्न नपाउने

संसदीय दलको नेता बन्न पाउने नपाउनेमा बहस जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
oli-ishwor-subash.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम राखेर विधान महाधिवेशन हुने भएको छ । विधान महाधिवेशनअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा बहुमत केन्द्रीय सदस्यहरूले ७० वर्षे उमेरहदलाई कायम राख्नुपर्ने सुझाव दिएपछि विधान महाधिवेशनमा पनि सो प्रस्ताव जस्ताको जस्तै पेस हुने देखिएको छ । मुलतः केन्द्रीय कमिटीले पास गरेपछि विधान महाधिवेशनले पनि त्यसलाई उल्ट्याउने सम्भावना न्यून हुन्छ । 

पार्टीको नेतृत्व दोस्रो पुस्तामा आउने गरी तयार पारिएको सो विधान मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले ७० वर्षे प्रावधानलाई कायमै राख्नुपर्ने अडान राखेका थिए । एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका थिए । तर, उनीहरूको मागलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकृत गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै १० वटै समूहका नेताले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने बताए भने ७० वर्षे उमेर हदलाई कायम राख्न माग गरे । ‘केन्द्रीय कमिटी बैठकमा ७० वर्षे उमेरहदको विषय उठेको थियो यसलाई कायम राखेर जानुपर्छ भन्नेमा सबै साथीहरु सहमत हुनुहुन्छ केन्द्रीय कमिटी बैठकबाट उमेर हद कायमै भएर जान्छ । यो नवौ महाधिवेशनको निरन्तरता हो’, पार्टीको प्रचार विभाग सदस्य योगेश भट्टराईले भने । 

तर पार्टीको संसदीय दलको नेता हुन पाउने की नपाउँने भन्ने विषयमा भने अझै परिभाषित गर्नै बाँकी रहेको उनले भनेका छन् । 

‘अध्यक्ष उठ्न नपाउने भनेपछि दलको नेतामा चाँही के गर्ने भन्ने विषयमा परिभाषित गर्नै बाँकी छ, तर एक व्यक्तिका लागि कार्यकारी पद चाँही दुई पटक भनेका छौं,’ भट्टराईले थपे ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले ७० वर्षे उमेरहदका विषयमा पार्टी भित्र कुनै समस्या नरहेको बताए । उनले सो व्यवस्था कायम हुने जानकारी दिए । ‘७० वर्षे उमेरहद कायम रहन्छ, यो व्यवस्थाका विषयमा कतै पनि कुनै असमझदारी छैन, १० वटा विभिन्न समूहमा बहस हुँदा पनि यो विषयमा विवाद छैन,’ एमाले प्रमुख सचेतक भट्टराईले हाम्राकुरासँग भने । 

यो व्यवस्था लागू भए अब फेरी केपी ओली अध्यक्ष उठ्न पाउने कि नपाउने ? भन्ने प्रश्नमा सचेतक भट्टराईले विधानमा सो व्यवस्था लागू भए ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न नपाउने बताए । 

‘सो व्यवस्था कायम हुँदा ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न पाउनु हुन्न, यो व्यवस्था सबैलाई लागू हुन्छ ।’ सचेतक भट्टराईले भने । 

७० वर्षे उमेर हदले ओलीलाई दशौँ महाधिवेशनमा अध्यक्ष हुन रोक्दैन । मङ्सिरमा महाधिवेशन भए एक पटक अध्यक्ष हुन पाउँछन् । फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मङ्सिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद नलाग्ने भएकाले यति बेला सो विषयमा ओली चुपचाप रहेका छन् । विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ । 

एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् । अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने देखिए पनि उमेर हद हटाउने विषयमा उनीहरूको पनि कुनै जोड नचल्ने भएको छ ।

‘ओलीको हकमा पार्टीले विशेष निर्णय गर्न सक्छ। त्यो भनेको के हो भने – स्थानीय निकायको निर्वाचन र सङ्घीय निर्वाचन ओलीकै नेतृत्वमा जाने, त्यसपछि आएको परिणामको आधारमा ओलीलाई सरकारको नेतृत्व गर्न पठाएर पार्टीको जिम्मेवारीमा अरू नेताहरूलाई ल्याउने’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार संविधानले सरकारको नेतृत्व गर्न कुनै व्यक्तिको उमेर हद नतोकेकाले ओलीलाई सरकारमा पठाउदा पार्टीमा अर्को व्यक्तिलाई ल्याउन सकिने र एघारौँ महाधिवेशनसम्म पुग्दा अहिलेका धेरै नेताहरूले पार्टीको जिम्मेवारीबाट अलग हुँदा पार्टी स्वतः दोस्रो पुस्तामा आउनेछ ।

‘७० वर्षे उमेरहदको विषयमा ओली मौन बस्दा सबैभन्दा बढी सकस ईश्वर पोखरेललाई परेको छ । ओलीका विरुद्ध अध्यक्षमा उठ्न नसक्ने ओलीले पोखरेललाई अध्यक्ष चुनाव उठ पनि नभन्ने, एघारौँ महाधिवेशन अघि नै बिदा हुनुपर्ने बाध्यता भएपछि सकस परेको हो’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार पार्टी अध्यक्ष हुनुपर्‍यो भन्दै धेरै पटक भने पनि ओलीले पोखरेललाई पत्याउन सकेका छैनन् । ओलीले नपत्याएपछि पोखरेलका लागि व्यवस्थापनको उपयुक्त पद भनेको उपाध्यक्ष मात्रै हो । 

तर ओलीको हकमा भने पार्टीभित्रबाट अहिलेसम्म प्रतिस्पर्धाका लागि नेताहरू तयार नभए पनि विधान महाधिवेशन लगत्तै दशौँ महाधिवेशनको रौनक तयार हुनेछ । सो रौनकमा ओली पार्टी अध्यक्षमा चुनाव लडेमा दोस्रो पुस्ताका कोही न कोही नेताहरू ओली विरुद्ध चुनाव लड्ने तयारीमा छन् । ओलीलाई सकेसम्म एक्लै नछाड्ने उनीहरूको तयारी छ ।

एमालेले १५ देखि १७ असोजसम्म विधान महाधिवेशनमा तय गरिसकेको छ । विधान महाधिवेशनमा अहिले तयार पारिएका दस्ताबेज पेस हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ