काठमाडौं। प्रधानमन्त्री निवास वालुवाटार परिसरमा रहेको रुखहरु भकाभक कटान गर्न थालिएको छ। परिसरका रुखहरु पुराना र ठूला भएको भन्दै ति रुखहरु कटान गर्न थालिएको हो। काट्न थालिएका रुखहरु बर्षौ लगाएर हुर्काइएको थियो।
वालुवाटारमा रुख काट्न लागेकाहरुले त्यहाँ फेरि नयाँ विरुवा लगाउने बताए पनि तत्काल त्यसले वालुवाटारको सौन्दर्य र शितलतालाई भने पुरानै स्वरुपमा फर्काउन सक्दैन।
भवन निर्माण विभागले वालुवाटार भित्रको भवन निर्माण मर्मत सम्भार गर्दै आएको छ। त्यसैगरि राज्यका विभिन्न निकायहरुले पनि राज्यको प्रमुख कार्यकारीको निवासमा सेवा दिदै आएका छन्।
तर सेवा दिदै आएका निकायहरुले वालुवाटारलाई नै उजाड बनाउन लाग्दा भने देशकै प्रमुख कार्यकारीले त्यस बारेमा वास्ता नगरेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव आएपनि त्यसको सामना गर्ने तयारीमा रहँदा उनी अझै वालुवाटारमै रहँदै आएका छन्।
कतिपय एमालेका कार्यकर्ताले एमाले अध्यक्ष ओलीले जाने बेलामा काँग्रेसको रुख चिन्हलाई वालुवाटारबाट सखाप पार्न लगाएको भनेर ठट्टा पनि गरेका छन्। तर वातावरणवादीहरुले सरकारी निकायहरुमा हुर्काइएका रुखहरु काट्ने कामको विरोध गर्दै आएका छन्। यसअघी सिंहदरवार नारायणहिटी दरवार संग्रहालयमा पनि रुख काटिएका थिए।