arrow

बजेटसँग सम्बन्धित विधेयक कार्यसूचीमा राख्न प्रमको सभामुखलाई आग्रह

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Parliament-Oli.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गर्नुभएको छ । 
 
प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 
 
गत असार २९ गते नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस सहितका दलले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन । सो दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक,२०७३ र ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक,२०७३ मा छलफल गर्ने कार्यसूची थियो । 
 
सभामुखले अविश्वासको प्रस्तावमा यही साउन ६ गतेदेखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ । 
 
प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले सो विषयमा विभिन्न दल र सम्बन्ध पक्षसँग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने विश्वास दिलाउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ