झापा । पाँचगाछी निवासी नेपाली काँग्रेसमा आबद्ध लोकतान्त्रिक योद्धा भक्तिप्रसाद सिटौला कलेजो बिग्रिएर गम्भीर अस्वस्थ भएका छन् ।
५२ वर्षीय सिटौलालाई हाल भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । चिकित्सकले कलेजो प्रत्यारोपण गरे मात्र उहाँको जीवन रक्षा हुने सल्लाह दिइसकेका छन् । पाँचगाछी– ४ बुलुचोकमा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँको परिवारमा वृद्ध पिता, पत्नी र दुई छोराछोरी छन् ।
उपचारमा संलग्न मेदान्तका चिकित्सकको भनाइ अनुसार कलेजो प्रत्यारोपणमा ८० देखि ९० लाख खर्च हुन सक्ने छ । सो खर्च परिवारले एक्लै धान्न मुस्किल भएपछि हाल उहाँको उपचार रोकिएको बुझिएको छ । सिटौला नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सचिव तथा पाँचगाछी गाविसको पहिलो जननिर्वाचित उपाध्यक्ष पनि थिए ।
विसं २०४८ मा शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएका सिटौलालाई बचाउन उपचार सहयोग अभियान चलाइने भएको छ । सिटौलीकी छोरी भूमिका आफ्नो कलेजो बुबाको उपचारका लागि प्रत्यारोपण गर्न तयार भएकी छन् । रासस