काठमाडौँ। सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेकिछिन्।
स्वास्थ्य मन्त्रालयद्वारा आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन्– “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनीले दिइन्।
“अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उनले भनिन्। सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
पूर्णखोपयुक्त घोषणा गरिने अभियान
सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए।
व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए।
मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पुर्याउन मन्त्रालयले प्राथमिकता दिएको बताए। बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए।
तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ। गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ।
हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ। यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।रासस