arrow

खिलराज मन्त्रिपरिषद्को अध्यक्ष भए जसरी नयाँ सरकार बन्छ : उपेन्द्र यादव

‘ओली राष्ट्रवादी नभएर नश्लवादी नेता’

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
up-yadav-g.jpg.jpeg
काठमाडौं । संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइए जसरी नयाँ सरकार गठन हुन सक्ने बताएका छन् । 
 
मंलगबार रिपोर्टर्स क्लबको साक्षात्कारमा संघीय गठबन्धनका  संयोजक समेत रहेका यादवले भने, ‘अहिलेको समस्या संवैधानिक होइन, यो राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ, खिलराज रेग्मी संविधानको कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त ?’ उनले वर्तमान संविधान प्रयोग गर्न लायकको नभएको जिकिर गरे । उनले थपे, ‘के को २९८ धारा ?, यो संविधान प्राक्टिस गर्न लाहेक छैन ।’ 
 
साक्षात्कारमा यादवले भने, ‘ओलीले राजिनामा नदिएर लफ्डा गरे उनी पनि डुब्छन अनि पार्टी पनि भड्खालोमा जान्छ, त्यो बाटोमा जानुभन्दा राजिनामा दिए राम्रो हुन्छ ।’ प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भएपनि नयाँ सरकार तत्काल बन्नै नसक्ने जिकिर गरिरहेका छन् नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो र, जनताले चाह्यो भने जेपनि हुन्छ, देश र जनता नै ठूलो हो ।’ 
 
आफुलाई कानुनको विद्यार्थी समेत बताउने यादवले संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै भने, ‘अहिलेको संविधानले संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको छ, फेरि २०७४ माघ ७ सम्म सरकार रहिरहनेछ भनेको छ, त्यतिमात्रै होईन अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना गरेको छैन, त्यसैले यो संविधान पूर्ण अस्पष्ट छ ।’ उनले वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए । 
 
उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफुहरु सहभागी नहुने जिकिर गरे । उनले भने, ‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैनौं, सरकारमा जान हामी लालायित छैनौं ।’ यद्यपि, उनले सरकारलाई राजनीतिक रुपमा वर्तमान समस्या समाधान गर्ने कुरामा, मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन र मुलुकको पूनःनिर्माणमा पूर्ण रुपले सहयोग गर्ने विश्वास गरे । 
 
वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर भएको उल्लेख गर्दै यादवले भने, ‘संविधान पूनःलेखन गर्नु अहिलेको आवश्यकता हो, यसले नै मुलुकलाई निकास दिन्छ, अहिले यो काम गर्न सक्ने वातावरण बनेको छ, यसको उपयोग गर्नु नै वुद्धिमानी हुन्छ ।’ 
 
यद्यपि, उनले अनाहकमा मुलुकलाई अस्थिरताको भूमरीमा फसाएर दक्षिण एशियाकै प्लेग्राउण्ड बनाउने काम कसैल गर्न नहुनेतर्फ ध्यानाकार्षण गराए । यादवले अब बन्न लागेको सरकारको नेतृत्व गर्नेहरु म्याद गुज्रिएको औषधी जस्तै भएको टिप्पणी गरे । उनले भने, ‘यी नेताहरुको परिक्षण भैसकेको छ, यीनीहरुले अबसर पाएर पनि केही गर्न सकेनन् ।’ 
 
ओली नेतृत्वको सरकार भ्रष्टाचारी र कमिशनखोरहरुबाट चलेको आरोप लगाउँदै भने,‘यो सरकार ढल्नैपर्ने थियो, बरु लामो समय लाग्यो ।’ अहिलेको वर्तमान राजनीतिक परिस्थितिलाई गठबन्धनले राजनीतिक रुपमा उठेका सवालहरुको राजनीतिक रुपमै हल गर्ने अवसरको रुपमा लिएको उनको दाबी छ । 
 
यद्यपि, २००७ सालदेखि आजसम्म कुनै सरकारले पूरा कार्यकाल व्यतित नगरेकाले मुलुक अस्थिरताको शिकार बनेको उल्लेख गर्दै यादवले भने,‘यसका कारण मुुलुक आर्थिक रुपमा अस्थिर, राजनीतिक रुपमा जर्जर र एकपछि अर्को द्धन्द्धमा फसेको छ ।’ उनले थपे,‘सरकारको काम सरकार बनाउने र खसाउने भैरहेको छ, त्यसैले अब मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सोच्ने अवसर आएको छ ।’ 
 
ओली सरकार राष्ट्रवादी भएकै कारण ढाल्न लागिएको भन्ने चर्चाको खण्डन गर्दै भने,‘‘राष्ट्रियता भन्ने कुरा उखान टुक्का र भाषणले हुने होईन, यो त देश र जनताको हितमा काम गर्नु हो, राष्ट्रिय स्वार्थमा काम गर्नु हो ।’’ यादवले ओली राष्ट्रवादी नभएर नश्लवादी नेता बनेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ