- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठवन्धन आबद्ध दलहरुसँग दर्जन बढी पटक बैठक गरेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठवन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट पनि पटक पटक मागिसकेका छन् ।
तर सत्ता गठवन्धनमा आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव गठवन्धन बैठकमा केही दिनदेखि नहुँदा सरकार विस्तारको गति ओझेलमा पर्दै आइरहेको छ ।
उनी केही दिनदेखि पार्टीको बैठकका लागि जनकपुरमा थिए भने हिजो बुधबार मात्रै उनी काठमाडौं आएका थिए । तर आज फेरी उनी पार्टीको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।
‘अस्तीसम्म उपेन्द्रजी जनकपुरमा पार्टीका काममा व्यस्त हुनुभयो, हिजो काठमाडौं आएर आज फेरी पोखरा जानुभएको छ, मन्त्रिपरिषद् विस्तारमा यस्तै कारण अलमल हुँदैछ,’ गठवन्धन आबद्ध दलका एक शीर्ष नेताले भने ।
यसअघि माधव नेपाललेसमेत पार्टीसँग जोडिएको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको भन्दै मन्त्रिपरिषद् विस्तारमा अल्झाउँदै आइरहेका थिए । उनले आफ्नो दलको बारे अदालतले गर्ने निर्णय कुर्न देउवालाई भनेका थिए ।
यस्तै जसपा अध्यक्ष यादवले पनि यसअघि दल विभाजन अध्यादेश फिर्ता नभइ सरकारमा सहभागी नहुने भन्दै मन्त्रिपरिषद् विस्तारमा अड्को थाप्दै आइरहेका थिए । प्रधानमन्त्री देउवाले यादवको अडानपछि गठवन्धनमा निर्णय गराएर सरकारबाट सो अध्यादेश फिर्तासमेत गराइसके ।
‘प्रधानमन्त्री ज्यू जतिसक्दो छिटो मन्त्रीपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठवन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नु भएको छ,’ प्रधानमन्त्री देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माले हाम्राकुरासँग भने ।
मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच हिजो बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई घण्टा छलफल भएको थियो ।
सो छलफलमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी भएनन् भने जसपा अध्यक्ष पार्टीको कार्यक्रममा जनकपुर पुगेकाले सहभागी हुन पाएनन् । त्यसपछि दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भएपनि थप गठवन्धनको बैठक बसेर निर्णय लिने सहमती बनेको थियो ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाल अहिले अस्वस्थ भएर अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयको संख्याका विषयमा भने गठवन्धन आबद्ध दलहरुका बीचमा सहमती भइसकेको छ । सहमती अनुसार कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।