arrow

मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी हुने गरेको प्रचण्डको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री पाइएन भन्दै रुवाबासी चल्ने गरेको गुनासो गरेका छन् ।  विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुने गरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा प्रचण्डले गुनासो गरे ।  

 माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष दाहालले आफूले जो जसलाई मन्त्री बनाए उनीहरू नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरू केही नभएको बताए । 

पार्ट सम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको भन्दै यसको परिवर्तन जरुरी भएको उल्लेख गरे । उनले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको भन्दै त्यसका पक्षमा आफूहरू लाग्ने बित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने विश्वास व्यक्त गरे ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरूले गरेको बताए ।

माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको चर्चा गर्दै उनले माओवादी रहँदासम्म परिवर्तनका एजेन्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको भए पनि आफूहरूले नेपाली जनताका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरे ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे । उनले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर जनताका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरूले सशक्त प्रतिवाद गरेको बताए ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उनले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पारे । नेपाली जनताको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्ण रूपमा प्राप्त हुन भने नसकेको उनले उल्लेख गरे ।

अखिल (क्रान्तिकारी)का नेतालाई पार्टीको स्थायी समितिमा राख्ने प्रस्ताव आफैँले बुधवारको स्थायी समितिको बैठकमा राखेको र कम्युनिस्ट पार्टीको उत्तराधिकारीसमेत तयार भएको उनले बताए । उनले अब पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत युवालाई सहभागी गराएरै छाड्ने दृढता व्यक्त गरे ।

अहिले देखिएको विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने प्रणालीको विकास युवा तथा विद्यार्थीले नै गर्नुपर्ने उल्लेख गर्दै उनले सबैले त्याग गर्दा मात्रै देशमा जनताले खोजेको जस्तो परिवर्तनको अनुभव गर्न सकिने स्थानमा पुर्‍याउन सकिने स्पष्ट पारे ।

पार्टीलाई नयाँ आधारमा अगाडि बनाउने नीति तथा कार्यक्रमसहित आउने र सबैलाई समेटेर लैजाने सङ्कल्पका साथ आउनेलाई पार्टी जिम्मा लगाएर आफू जान तयार रहेको अध्यक्ष दाहालको भनाइ छ । घाइते, बेपत्ता परिवार तथा शहीद परिवारलाई राहत दिने विषयमा गठबन्धनमा छलफल भएको र साझा कार्यक्रममा समेटिएको उनको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा  शहीद तथा बेपत्ता परिवारलाई राहत दिने विषयमा गरिएको निर्णयको माइन्युट नै लुकाइएको भन्दै त्यो माइन्युट खोज्न आफू लागिपरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ