काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि माओवादीलाई हर कुनै तरीकाले सघाउने भन्दै पार्टी एक मत भएको निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले वर्तमान केपी ओली नेतृत्वको सरकार काम चलाउ बनिसकेको भन्दै अब उपरान्त कुनै पनि प्रकारका निर्णय नगर्न भनेको छ । कांग्रेसले ६ बुँदे निर्णय गर्दै सरकारको उत्तर दायित्व र कर्तव्य बोध समेत गराएको छ ।
श्रावण ४, २०७३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, एन.पी. साउँद, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, महेन्द्र यादव, किशोरसिंह राठौर, मीन विश्वकर्मा, गगनकुमार थापा, बद्री पाण्डे, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, डा. डिला संग्रौला र रमेश लेखकले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकको निर्णय देहाय बमोजिम छः
१. नेपाली कांग्रेस र ने.क.पा. (माओवादी केन्द्र) बीच २०७३ आषाढ २८ गते भएको सहमतिहरुलाई २०७३ आषाढ २९ गतेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर नेपाली कांग्रेस, ने.क.पा. (माओवादी केन्द्र), आन्दोलनकारी मधेश केन्द्रीत दलहरु समेत १३ वटा दलहरुबाट अविश्वासको प्रस्ताव दर्ता भई २०७३ श्रावण ६ गतेका लागि छलफलको दिन तोकि सकिएको छ । तसर्थ, यस सन्दर्भमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपरको अविश्वासको प्रस्ताव पारित गराउने र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लगायतका प्रकृयाहरुमा नेपाली कांग्रेस एकतावद्ध भई सकृय समर्थन गर्ने निर्णय गर्दछ । साथै, उक्त प्रस्तावहरुलाई अत्यधिक मतले पारित गर्न व्यवस्थापिका–संसदमा रहेका सबै राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछ ।
२. व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव पारित भए पश्चात नयाँ प्रधानमन्त्रीको निर्वाचन नेपालको संविधानको धारा २९८ र व्यवस्थापिका–संसद नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न गर्ने विषयमा यो बैठक एकमत रहेको छ । अविश्वासको प्रस्ताव पारित भए पश्चात मुलुकलाई अन्यौलमा नराखी तत्काल नयाँ प्रधानमन्त्रीको निर्वाचन र मन्त्रिपरिषद्को गठन गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई यो बैठक हार्दिक अपिल गर्दछ ।
३. सत्ता साझेदार दल ने.क.पा. (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिई सकेको र व्यवस्थापिका–संसदमा प्रधानमन्त्री के.पी. शर्मा ओली उपर १३ दलहरुको तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भई सकेको अवस्थामा वर्तमान सरकारले बहुमत गुमाई सकेको प्रष्ट छ । अब अर्को नयाँ प्रधानमन्त्री निर्वाचित हुने बेलासम्मको लागि मात्र कायम रहेको यो सरकारले थरिथरिका निर्णय, नियुक्ति र बर्खास्तगी गर्न थालेको विषयप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गम्भीर असहमति व्यक्त गर्दछ । यस्ता निर्णय, नियुक्ति र बर्खास्तगीहरु तत्काल बन्द गर्न पुनः ध्यानाकर्षण गराउँदछ ।
४. शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी. केही दिन देखि विभिन्न माग राखी आमरण अनसनमा बस्नु भएको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । मागहरुको प्रकृति राजनीतिक र चिकित्सा शिक्षा सम्बन्धी रहेको देखिन्छ । राजनीतिक मागहरु प्रति हाम्रो सहमति रहेको छैन । चिकित्सा शिक्षा लगायत गैर राजनीतिक मागहरु सम्बन्धमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले विगतमा गरेका प्रतिवद्धता अनुरुप समाधान गरी अविलम्व अनसन अन्त्य गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
५. केही दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागहरुमा गएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । कतिपय स्थानहरुमा यातयात अवरुद्ध भएका छन् । बाढी पहिरोका कारण सयौँ व्यक्तिहरु घरवारविहिन भई विस्थापित समेत हुन वाध्य भएका छन् । यस्तो कठिन अवस्थामा बाढी पहिरो पीडित परिवारहरुलाई तत्काल उद्धार, राहत र सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै निकायलाई यो बैठक आग्रह गर्दछ ।
६. टर्कीमा हालै भएको सैनिक कू को प्रयासको यो बैठक गम्भीर भत्र्सना गर्दछ । सैनिक कू को प्रयासलाई टर्कीका जनताले असफल बनाई लोकतान्त्रिक पद्धतिको निरन्तरता कायम गरेकोमा यो बैठक हार्दिक प्रशंशा गर्दछ । साथै, सैनिक कू विफल पार्ने क्रममा सहादत प्राप्त गरेकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
शोक प्रस्ताव
नेपाली कांग्रेस पर्वतका पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य डिलप्रसाद न्यौपानेको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।