arrow

मेस्सी, नेयमार र एम्बाप्पे फ्लप हुँदा पीएसजीको पहिलो हार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
messi-neymar-mbappe-flop.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे फ्लप हुँदा  पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो हार बेहोरेको छ । 

आइतबार राति भएको खेलमा पीएसजी रेनससँग २–० गोल अन्तरले पराजित भएको हो । रेनसलाई जिताउन गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे ।

४५ औं मिनेटमा लाबोर्डेले र ४६ औं मिनेटमा फ्लाभिनले गोल गर्दै रेनसलाई २–० को जित दिलाएका हुन् । ६८ औं मिनेटमा एम्बाप्पेले गोल गरे पनि भीएआरमा त्यो असफल भएको थियो । एम्बाप्पले ८६ औं मिनेटमा पहेँलो कार्ड खाएका थिए । 

तीन खेलाडीको असफलता
प्रशिक्षक मौरिसियो पोचिटिनोले मेस्सी, नेयमार र एम्बाप्पेलाई शुरुआती रोजाइमा उतारेको भए पनि तीन फरवार्डबीच अहिलेसम्म तालमेल मिल्न सकिरहेको छैन । 

नेयमार र एम्बाप्पे पहिलेदेखि नै पीएसजीमा छन् भने यसै सिजन मेस्सी आएका हुन् । लिगमा मेस्सीले धेरै खेल पनि खेलेका छैनन् । उनलाई पीएसजी ल्याउनुको उद्धेश्य च्याम्पियन्स लिग जित्ने रहेको प्रशिक्षक पोचिटिनोले बताउँदै आएका छन् । 

पीएसजी आएपछि मेस्सीले पहिलो हार बेहोरेका छन् । अप्रिलपछि पीएसजी पहिलो पटक पराजित भएको हो । अन्तिम पटक पीएसजी गत सिजन लिग च्याम्पियन लिलीसँग पराजित भएको थियो । 

अंक तालिकामा रेनस निकै नै तल रहे पनि पीएसजीलाई हराउन सफल भयो । रेनसले ९ खेलमा १२ अंक जोडेर आठौं स्थानमा छ । 

शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २४ अंक छ । दोस्रो स्थानको लेन्सको १८ अंक छ । तेस्रो निस र चौथो एन्जर्सको समान १६ अंक छ । 



नयाँ