arrow

लोग्ने नै 'पशु' भएपछि श्रीमतीलाई १० दिनदेखि बाँधेर कुटपिट

५ बर्ष अघि बिहेमा चार लाख र मोटरसाइकल लिएका थिए दाइजो

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा। दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाटै बन्धक बनाइएकी महिलाको मङ्गलबार प्रहरीले उद्धार गरेको छ। ससुरालीबाट माग गरेको दाइजो नल्याएको निहुँमा वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले श्रीमती ममतादेवी यादवलाई विगत १० दिनदेखि घरमै बन्धक बनाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ममतादेवीको उद्धार गरेको हो। 
 
विगत १० दिनदेखि ममतादेवीलाई उनका श्रीमान् अनिलले हातखुट्टा बाँधी घरभित्र बन्धक बनाइराखेको ममताका पिता रामअयोध्या यादवले जानकारी दिएपछि उनको उद्धार गरी श्रीमान्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक यमबहादुर गरुङले जानकारी दिए। उनले पेसाले शिक्षक रहेका ममतादेवीका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको बताए। 
 
दाइजो कम दिएको निहुँमा ज्वाइँ अनिलले छोरी ममतालाई कुटपिट गरी घरमा थुनेर राखेको खबर पाएपछि प्रहरीलाई खबर गरेको ममताका बुबा रामअयोध्याले बताए। 
 
२०६७ जेठ १७ गते हिन्दू रीतिरिवाजअनुसार अनिलसँग ममताको विवाह गर्दा रु चार लाख नगद र मोटरसाइकल दाइजो दिएको ममताका पिता यादवले जानकारी दिए। ममताको एक चार वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ। 
 
पति अनिलले हातखुट्टा बाँधेर र मुखमा कपडासमेत कोचेर कुटपिट गरेको ममताले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । 
 
पत्नी ममतालाई घरभित्र थुनेर राखेका शिक्षक अनिलले अत्यन्त अमानवीय काम गरेकाले उनीविरुद्ध घरेलु हिंसासम्बन्धी कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ