arrow

अविश्वास प्रस्ताव ‘इर्स्या प्रस्ताव’ हो : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
jfunt.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी पनि गरे । उनले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न गरे, “संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्ने ?” 
 
प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची कहाँ गयो भनेर बिहीबारबाट हुने संसद्मा आफूहरुले खोज्नुपर्ने बताउँदै बलजफ्ती गरेर अघि नबढ्न आग्रह गरे । संसद्मा गत असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ । 
 
अविश्वास प्रस्तावलाई विपक्षीको  ‘इर्स्या प्रस्ताव र चिन्ता प्रस्ताव’ को सङ्ज्ञा दिँदै उनले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको जनाए । 
 
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु हो भने । उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे । प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली’ को प्ले कार्ड प्रदर्शन गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ